पोखरामा अत्याधुनिक '१८ डी सिनेमा' सञ्चालनमा आएको छ।
फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा '१८ डी सिनेमा' सञ्चालनमा ल्याएको हो। अभिनेता राजेश हमालले शुक्रबार यसको उद्घाटन गरेका हुन्।
कम्पनीका अनुसार यो प्रविधियुक्त सिनेमा हल नेपालमै पहिलोपटक संचालनमा ल्याइएको हो। यसअघि काठमाडौंमा यसको पहिलो शाखा सञ्चालनमा रहेको छ भने पोखरा दोस्रो शाखा हो।
उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अभिनेता राजेश हमालले पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव लिन पाउने बताए। उनले भने, 'पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै फिल्म छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो।' उनले पोखरामा आफ्नो करियरको तेस्रो फिल्म ‘देउकी’को छायांकन भएको समेत स्मरण गरे।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो। उनले काठमाडौंमा भन्दा पोखराको प्रविधि अझ उन्नत रहेको बताए।
१८ डी सिनेमामा दर्शकहरू १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन्। दर्शकले कुनै चश्मा वा हेडसेटबिना नै सिनेमाको अनुभव लिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा १८ डी सिनेमा सञ्चालनमा आएसँगै दर्शकले फरक खालको अनुभव पाउने बताए। उनका अनुसार अब दर्शकले साहसिक अनुभव बाहिरी गतिविधिमा मात्र होइन, सिनेमाभित्रै पनि महसुस गर्न सक्नेछन्।
उनले पोखरामा यस्तो प्रविधिसहितको सिनेमा सञ्चालनले मनोरञ्जन क्षेत्रलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे।