कास्की, पोखराका स्थानीय विनोद बराल बेलायत गएको २७ वर्ष भयो। उनी लन्डनको 'नून फुड' नामक खाद्य कम्पनीमा रिसर्च एन्ड डेभलपमेन्ट सेफ प्रमुख भएर काम गरिरहेका छन्।
उनी यो कम्पनीमा आबद्ध भएको एक महिना मात्रै भयो।
उनका अनुसार यो कम्पनीले विभिन्न परिकारको अनुसन्धान र विकास गर्छ। यहाँ तयार गरिएका परिकार मुख्य रूपमा सुपरमार्केटमा जान्छन्।
'सुरूमा खाना कसरी बनाउने भनेर डिजाइन र रेसिपी तयार गरिन्छ। त्यसपछि उत्पादन गरेर बजारमा पठाइन्छ। मेरो मुख्य काम नयाँ परिकारको रेसिपी फाइनल गर्ने हो,' विनोदले भने।
नून फुडमा करिब साढे दुई सय जनाको समूह छ। उनीहरूको मुख्य काम नयाँ परिकार विकास, पहिलेका परिकार परिस्कृत र उत्पादन गर्नु हो।
कम्पनीमा परिकार अनुसारकै विभाग छन्। विनोद कार्यरत विभागले भारतीय, अरबी र पूर्वीय परिकार उत्पादनमा काम गर्छ।
सुपरमार्केटका प्रतिनिधिहरू आफै आएर ग्राहकको माग अनुसार कस्ता परिकार आवश्यक छन् भनेर सुझाव पनि दिने विनोदले बताए।
'हाम्रा मुख्य ग्राहक नै यहाँका सुपरमार्केट हुन्। उनीहरूले दिएको सुझावका आधारमा नयाँ परिकार तयार गरिन्छ,' उनले भने।
विनोदको पारिवारिक व्यवसाय पनि रेस्टुरेन्ट नै हो। उनको परिवारका सदस्यले धादिङको मलेखुमा पेट्रोल पम्प र रेस्टुरेन्ट चलाउँथे।

उनी भने पोखराबाट कलेज पढ्न काठमाडौं आए। अमृत साइन्स क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह (प्लस–टू सरह) पास गरे।
त्यो बेला विनोदका साथीहरू पढ्न बेलायत गइरहेका थिए। उनी पनि सन् १९९९ मा विद्यार्थी भिसामा बेलायत गए।
विनोद लन्डन युनिभर्सिटीबाट मान्यता प्राप्त एक कलेजमा होटल व्यवस्थापन विषय पढ्न भर्ना भए। रेस्टुरेन्टमा काम गर्दै दुई वर्षको पढाइ पूरा गरे।
पढाइ सकेर पूर्ण समय काम गर्न पाउने भएपछि उनी 'द बम्बे बाइसाइकल क्लब' रेस्टुरेन्टमा जोडिए।
'यो रेस्टुरेन्टका लन्डनमा २१ वटा शाखा छन्। सुरूमा म सामान्य सेफ थिएँ। काम राम्रो भएर एक वर्षमै कार्यकारी प्रमुख सेफको जिम्मेवारी पाएँ,' विनोदले भने।
रेस्टुरेन्टमा काम सुरू गरेपछि उनले भिसा परिवर्तन गरेर काम गर्ने अनुमति पनि लिए। पाँच वर्षपछि त्यहाँको नागरिकता पाए।
त्यो रेस्टुरेन्टमा उनले ८ वर्ष काम गरे। त्यसपछि उनी 'डो एन्ड को इन्टरनेसनल' मा ग्लोबल सेफका रूपमा गए।
यो व्यवस्थापन कम्पनीमा जागिर खान उनले फरक फरक देशमा तीन चरणमा अन्तर्वार्ता दिनुपरेको थियो। सबै प्रक्रिया पूरा हुन करिब चार महिना लागेको विनोद सम्झिन्छन्।
उनका अनुसार डो एन्ड को इन्टरनेसनलको मुख्य काम वायुसेवा कम्पनीहरूका लागि खाना तयार गर्ने, अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रममा खाना व्यवस्थापन गर्ने हो। यसको मुख्य कार्यालय अस्ट्रियामा छ भने अमेरिका र बेलायतमा शाखा छन्।
'कम्पनीले विश्वका ८१ देशका प्रमुख वायुसेवा कम्पनीसँग खाना आपूर्तिको सम्झौता गरेको छ,' विनोदले भने, 'कतारमा विश्वकप हुँदा पनि खाना व्यवस्थापन हाम्रो कम्पनीले गरेको थियो। म ९ महिना त्यहीँ बसेको थिएँ।'
कामका क्रममा विभिन्न देश जाँदा विनोदको भूमिका खासगरी सुपरभाइजरको हुन्थ्यो।

कामकै सिलसिलामा उनी ८० भन्दा बढी देश पुगिसकेका छन्।
डो एन्ड कोमा काम गर्दै जाँदा जिम्मेवारी पनि बढ्दै गयो र छाड्दा उनी विभाग प्रमुख थिए। त्यहाँ उनले १५ वर्ष काम गरे।
यस अवधिमा खाना सम्बन्धी उनका अनुभव र विचारहरू विभिन्न पत्रपत्रिकामा प्रकाशन भए।
त्यसपछि विनोद नेपाली खानालाई अघि बढाउने र मःमबारे अनुसन्धान गर्ने उद्देश्यले अस्ट्रेलियाको '८८४८ मःम हाउस' सँग जोडिए। उनी त्यहाँ मःम अनुसन्धान तथा विकासमा सघाउँछन्।
मःमको इतिहास, विकास र सम्भावनाबारे उनले 'मःमका पाइला' नामक किताब पनि लेखेका छन्।
'यो किताब नेपाली परिवेश र अनुभवमा आधारित भएर सरल, स्थानीय भाषाशैलीमा लेखिएको छ,' विनोदले भने।
उनले मःमको अन्तर्राष्ट्रिय यात्राबारे 'जर्नी अफ मःम डम्प्लिङ' नामक अर्को किताब पनि लेखेका छन्। अंग्रेजी भाषामा लेखिएको यो किताब छिट्टै प्रकाशन गर्ने उनले बताए।
यसबाहेक विनोद नेपाली खाना सम्बन्धी विषयमा विद्यावारिधि पनि गर्दैछन्।
'अब ८८४८ मःम ब्रान्डको फ्रेन्चाइज लिने योजना छ। मःम उत्पादन गर्न फ्याक्ट्री बनाउँदै छु। उत्पादित मःम सुपरमार्केटमा बेच्ने योजना छ,' विनोदले सुनाए।