जात्रा एउटै हो, तर मनाउने तरिका आनका तान फरक छ।
हामी कुरा गर्दै छौं, घोडेजात्राको।
काठमाडौंमा सेनाले परेड खेलेर मनाउने घोडेजात्रा पाटनमा भने फरक छ। यहाँ महर्जन समुदायका गुठियारहरू घोडा कुदाउँदै जात्रा मनाउँछन्। नेपाल भाषामा यसलाई 'याकः सल जात्रा' भनिन्छ।
पाटन दरबारको मूलचोकबाट सुरू हुने यो जात्राको निम्ति दरबारको मूलढोका खोलिएको हुन्छ। सिंहदरबारको राजदल गुल्मबाट एउटा घोडालाई झकिझकाउ सजाएर पाटन दरबार ल्याइन्छ। भीमसेन गुठी च्योः खलका गुठियारहरू पालैपालो त्यो घोडाको सवारी गर्छन्, मूलचोकको फन्को मार्छन्।
यो क्रम केही समय यसैगरी चल्छ।
त्यसपछि दौरा-सुरूवाल, ढाका टोपी र ढाकाकै इस्टकोट लगाएका, अनुहारमा अबिर घसेका मान्छे दरबार परिसरमा आइपुग्छन्। उनी त्यो घोडामा त्यसैगरी चढ्छन्, मूलचोकको फन्को मार्छन्। अनि, घोडसवार गर्दै मूलचोकको मूलढोकाबाट दरबार स्क्वायरतिर निस्किन्छन्।
त्यहाँबाट वल्खु, भोलढोका हुँदै बालकुमारी मन्दिर पुग्छन्। भोलढोकादेखि बालकुमारीसम्म तीनपटक ओहोरदोहोर गर्ने चलन छ।
आखिरीमा बालकुमारी मन्दिरमा पूजाआजा गरेपछि जात्रा सम्पन्न हुन्छ। यसका लागि बालकुमारी मन्दिरमा अघिल्लो दिन नै यसिं (लिंगो) ठड्याएर राख्ने चलन छ। जात्रा समापनअघि घोडाले त्यो यसिं छुनुपर्छ।
यसबीच घोडाको पछिपछि झिलिमिली तासको छातामुनि केही बुढापाका पाटन दरबारदेखि हिँडेर बालकुमारी मन्दिरसम्म पुग्छन्। केहीले चिलाखः बोकेका हुन्छन्, केहीले खड्ग।
उनीहरू यसै जात्रा हेर्न आएका होइनन्। तीमध्ये कसैले मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको प्रतिनिधित्व गरिरहेका हुन्छन् त कसैले मल्लकालीन मन्त्रीको। कसैले तत्कालीन सेनापतिको प्रतिनिधित्व पनि गर्छन्।
उनीहरूले बोक्ने खड्ग पनि चानचुने होइन। स्थानीयका अनुसार यो राजा सिद्धिनरसिंह मल्लको खड्ग हो।
यसरी राजा, मन्त्री र सेनापतिको प्रतिनिधित्व गर्दै घोडालाई पछ्याउँदै हिँड्नुको पछाडि कारण छ। मल्लकालमा यो जात्रा मनाउँदा यसैगरी राजा र मन्त्रीहरू घोडाको पछि पछि हिँड्ने गर्थे। त्यही दृश्य हुबहु जीवन्त पार्न यो रित चलेको भनाइ छ।
पाटनमा मनाइने घोडेजात्राको अर्को पनि विशेषता छ। यो काठमाडौंको भन्दा पुरानो भएको स्थानीय दाबी गर्छन्।
काठमाडौंमा घोडेजात्रा सुरू भएको राणाकालतिर हो। जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्किएपछि उतैको सिको गर्दै टुँडिखेलमा घोडा दौडाउन सुरू गरेका थिए।
पाटनको घोडेजात्रा भने मल्लकालबाटै सुरू भएको कुरा जात्रा मनाउने विधिले पनि छर्लंग पार्छ। तर यो जात्रा कति पुरानो हो भन्ने यकिन छैन। कतिपयले सिद्धिनरसिंह मल्लको पालामा सुरू भएको हुनसक्ने अनुमान गरेका छन्।
-1773831162.jpg)
-1773831163.jpg)
-1773831161.jpg)
-1773831160.jpg)
-1773831161.jpg)
-1773831162.jpg)
-1773831159.jpg)
-1773831158.jpg)
-1773831159.jpg)
-1773831158.jpg)
-1773831157.jpg)
-1773831157.jpg)
-1773831157.jpg)
-1773831156.jpg)
-1773831155.jpg)
-1773831155.jpg)
-1773831155.jpg)
-1773831155.jpg)