यही चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'हामी तीन भाइ' को प्रचारप्रसार तीव्र पारिएको छ।
निर्माण पक्षले पोस्टर, टिजरका साथै गीत सार्वजनिक गर्दै दर्शकमाझ उत्साह बढाइरहेको छ।
यसै क्रममा शुक्रबार फिल्ममा समावेश गीत 'झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली' सार्वजनिक गरिएको छ।
लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर छ। गीतको संगीत गायक शक्तिले तयार पारेका हुन् भने शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाको छ।
गीत तथा यसको भिडिओले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय संस्कृति झल्काउने प्रयास गरेको छ।
भिडिओमा फिल्मका मुख्य कलाकार फलित राई, जाहन्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरीले नृत्य गरेका छन्। कमल राईको कोरियोग्राफीमा भिडिओ बनेको हो।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको 'हामी तीन भाइ' को निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकारमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्। उनीहरुकै कथा वरपर फिल्म घुमेको छ।
साथमा लक्ष्मी वर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिलमको कार्यकारी निर्माता विक्रम तामाङ छन्। सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। यसमा शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन छ।