सहिद परिवार
घरको ढोकाबाट निस्कँदै गर्दा मोहन सरदारले हातमा बाँधिएको पट्टी मिलाए।
उनलाई जतिसक्दो छिटो अस्पताल पुगेर आफ्नो हातको घाउ ड्रेसिङ गराउन हतार थियो।
मोहनले हातको पट्टी मिलाउँदै घरबाट निस्कँदै गरेको दृश्य उनकी पत्नी मञ्जुले हेर्दै थिइन्।
'हातको घाउ ड्रेसिङ गर्न जानु भएको श्रीमान फर्किएर आउनु भएन'यो दृश्य अब मञ्जुको निम्ति अन्तिम सम्झनाका रूपमा बाँकी छ।
घर निर्माण स्थलमा मजदुरी गर्ने मोहनको भदौ २१ गते मेसिनले हात काटिएको थियो। चोट गहिरो भएकाले उनी नियमित काममा जान सकेका थिएनन्।
घाउ पाक्न नदिन उनी घरबाट १५–२० मिनेट दुरीमा रहेको सामुदायिक अस्पतालमा ड्रेसिङ गराउन जान्थे। भदौ २३ गते पनि दिउँसो १ बजेतिर एक जना साथीसँग घाउ ड्रेसिङ गराउन भनी निस्केका थिए।
अरू दिन एक–डेढ घन्टामै फर्किसक्ने मोहन त्यस दिन भने साँझ अबेरसम्म फर्किएनन्।
सुरूमा त मञ्जुलाई लाग्यो — साथीसँग घरबाट निस्केका उनी तिनै साथीसँग बजार डुल्दै होलान्!
तर राति ८ बजेसम्म घर नआएपछि मञ्जुले फोन गरिन्।
फोन लागेन।
फोन नलागेपछि उनलाई लाग्यो — कहिलेकाहीँ साथीको घरमा गफ गरेर बस्ने मोहन त्यस दिन पनि साथीसँगै होलान्!
तर राति अबेरसम्म कुर्दा पनि मोहन नफर्केपछि मञ्जुलाई सुर्ता भयो।
त्यसमाथि तारन्तार फोन गर्दा पनि नउठेपछि सुर्ता झनै बढ्यो।
उनले सोचिन् — साथीसँगै गफ गरेर बसे पनि यति ढिला त कहिल्यै गर्थेनन्!
उनी मोहनको साथीलाई फोन गरेर सोध्न चाहन्थिन्। तर ती साथीको नम्बर उनीसँग थिएन।
मोहन त्यो रातभर घर फर्केनन्।
श्रीमानको चिन्ताले मञ्जु रातभरि निदाउन सकिनन्।
उनी भोलिपल्ट बिहानै घरधन्दा सकेर श्रीमानको खोजीमा निस्कने तयारी गर्दै थिइन्, त्यही बेला मोहन काम गर्ने घरका ठेकेदार टुप्लुक्क आइपुगे।
उनले मोबाइलमा एउटा भिडिओ देखाउँदै मञ्जुलाई सोधे, 'यो हाम्रै मोहन हो कि जस्तो लागेर सोध्न आएको?'
मञ्जुले मोबाइल आफ्नो हातमा लिएर भिडिओ हेरिन्।
उनले एक झलकमै आफ्नो श्रीमानलाई चिनिहालिन्।
त्यो भिडिओमा प्रहरीको गोली लागेर मोहनको मृत्यु भएको भन्दै फोटोसहित समाचार बनाइएको थियो।
भिडिओ देखेर मञ्जु अत्तालिइन्। आफन्तहरूलाई खबर गरिन्।
मोहन सरदारको घर सुनसरीको इटहरी उपमहानगरपालिका–१४ मा पर्छ। उनी परिवारका कान्छा छोरा थिए। उनका दाजु महेशको घर पनि नजिकै थियो।
'भिडिओमा श्रीमानको मृत्यु भएको सुन्दा म त बेहोसै भएँ,' मञ्जुले भनिन्, 'आफन्तहरूले नै मलाई सम्हाल्नुभयो।'
खोजखबर गर्दै जाँदा मोहनलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जानकारी आयो। मञ्जु आफै अस्पताल जान सकिनन्। आफन्तहरू गएर बुझ्दा गोली लागेर मारिएका व्यक्ति मोहन नै भएको पुष्टि भयो।
घरमा रूवावासी चल्यो।
अस्पतालले प्रक्रिया पूरा गर्नुपर्ने भन्दै तत्काल शव दिन मानेन।
'एक सातापछि मात्र उहाँको शव घर ल्याइएको थियो, मैले त हेर्न पनि सकिनँ,' मञ्जुले भनिन्।
मोहनलाई भदौ २३ गते इटहरी चोकमा प्रहरीको गोली लागेको थियो। चिकित्सकहरूले छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको परिवारलाई बताएका थिए।
'घाउ ड्रेसिङ गरेर घर फर्किने क्रममा गोली लागेको रहेछ,' मञ्जुले भनिन्, 'जुन ठाउँमा उहाँ गोली लागेर ढल्नुभएको थियो, त्यही ठाउँमा उहाँको मोबाइल खसेको रहेछ। सिसिटिभी फुटेजमा अर्को कुनै व्यक्तिले उहाँको मोबाइल उठाएर लगेको देखेपछि हामीलाई गोली लागेको ठाउँ थाहा भयो।'
मोबाइल टिप्ने मान्छेको अनुहार भने सिसिटिभीमा प्रस्ट नचिनिएको उनले बताइन्।
'फोन पनि अहिलेसम्म अफ छ,' उनले भनिन्, 'मान्छे नै गुमेपछि फोन खोज्न खासै चासो पनि दिएनौं।'
त्यति बेला फोनभन्दा छोरीहरूलाई कसरी सम्हाल्ने भन्ने मात्र सोच आएको उनको भनाइ छ।
उनका ८ र ५ वर्षका दुई छोरी छन्। मोहनलाई दागबत्ती जेठी छोरीले दिएकी थिइन्। कान्छी छोरीलाई भने बुबाको मृत्युबारे अहिलेसम्म थाहा छैन। उनी बेला बेला बुबाको सोधिखोजी गर्छिन्। 'मम्मी, बुबा विदेश जानुभएको हो?' भनेर प्रश्न गर्छिन्।
मञ्जु कुनै जबाफ दिन सक्दिनन्।
'चाहेर पनि भन्न सकेकी छैन,' उनले भनिन्, 'ठूली भएपछि आफै बुझ्छे!'
उनका अनुसार मोहनले यी दुई छोरीको भविष्यकै लागि दिनरात मिहिनेत गरेका थिए। आफू तीन–चार कक्षा मात्र पढेको भए पनि उनी छोरीहरूलाई उच्च शिक्षासम्म पढाउन चाहन्थे।
मोहनको मृत्युपछि दुई छोरीको सम्पूर्ण जिम्मेवारी मञ्जुको काँधमा आएको छ। उनले अहिलेसम्म नियमित काम गरेकी थिइनन्। छोरीहरूको हेरचाहमै उनको दिन बित्थ्यो। अब के काम गरेर छोरीहरूलाई कसरी हुर्काउने, कसरी पढाउने भन्ने उनलाई चिन्ता छ।
'जिन्दगी सुरू हुन नपाउँदै अन्त्य भयो,' उनले भनिन्, 'छोरीहरू हुर्कँदै गएपछि केही सहज हुन्छ भन्ने लागेको थियो, तर श्रीमान बितेपछि सबै भताभुंग भयो।'
मञ्जु अहिले २६ वर्षकी भइन्। मोहनसँग उनको बिहे झन्डै एक दशकअघि भएको थियो। त्यति बेला मञ्जु १७ र मोहन ३०/३१ वर्षका थिए।
रामधुनी गाउँपालिका–६ की मञ्जु र मोहनको चिनजान साथीमार्फत भएको थियो। झन्डै आधा वर्षको कुराकानीपछि उनीहरूले प्रेमविवाह गरेका थिए।
'उमेर फरक भए पनि उहाँले कहिल्यै नराम्रो गर्नुभएको थिएन,' उनले भनिन्, 'दुःख गरेर भए पनि सधैं हामीलाई खुसी राख्न खोज्नुहुन्थ्यो।'
श्रीमान बितेपछि मञ्जु मानसिक रूपमा विछिप्तजस्तै बनेकी छन्। दिनभरि अरूसँग कुरा गरेर समय कटाए पनि साँझपख मन थाम्न गाह्रो हुन्छ। छोरीहरूकै अनुहार हेरेर आफूलाई सम्हालिरहेको उनी बताउँछिन्।
दुवै छोरी दिउँसो स्कुल जान्छन्। १२ कक्षासम्म पढाउने जिम्मा गोल्यान ग्रुपले लिएको छ। स्वास्थ्य उपचार, खानपान र दैनिक खर्चका लागि भने उनी जागिरको खोजीमा छिन्।
'धेरैले जागिरको आश्वासन त दिएका छन्, तर अहिलेसम्म काम पाएकी छैन,' उनले भनिन्।
कक्षा ८ सम्म मात्र पढेकी मञ्जुले आफ्नो क्षमता अनुसार काम पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेकी छन्।
सरकारले सहिद परिवारलाई रोजगारी र निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराए हुन्थ्यो भन्ने पनि उनको अपेक्षा छ।
त्यसबाहेक न उनको कुनै अपेक्षा छ, न आशा।
घरि घरि मोहनले त्यस दिनमा घरको ढोकाबाट निस्कँदै गर्दा हातमा बाँधिएको पट्टी मिलाएको दृश्य मात्र सम्झिरहन्छिन्।
***