३५ वर्ष मुनिका सांसद
२०७९ अघिसम्म स्याङ्जाका झविलाल डुम्रे ग्यालेक्सी टेलिभिजनका प्रस्तोता रवि लामिछानेले चलाउने 'सिधा कुरा' कार्यक्रमका नियमित दर्शक थिए।
जब रविले चुनावको ठिकअघि टेलिभिजन छाडेर राजनीतिमा आउने घोषणा गरे, डुम्रेलाई पनि राजनीतिमा जानुपर्छ भन्ने लाग्यो।
डुम्रेको कुनै राजनीतिक पृष्ठभूमि थिएन। न उनी कुनै दलमा आबद्ध थिए, न उनको परिवारका सदस्य राजनीतिमा थिए। उनी पोखरामा बसेर सूचना प्रविधि क्षेत्रको व्यापारमा सक्रिय थिए। सूचना प्रविधिका विभिन्न कोर्स गर्दै आफ्नो व्यवसाय चम्काइरहेका थिए। गाउँ गाउँमा इन्टरनेट पुर्याउने र ग्रामीण विकासका काम गरिरहेका थिए।
राजनीतिक पृष्ठभूमि नभए पनि चासो भने थियो। त्यही चासोका कारण रवि लामिछाने राजनीतिमा होमिएपछि उनी पनि मोबाइल एप्लिकेसनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य बने। अनि, पार्टी संगठन विस्तारमा लागे।
'बाहिर बसेर गाली मात्र गर्नुभन्दा आफै राजनीतिमा होमिनुपर्छ भन्ने सोच पलायो,' डुम्रेले सेतोपाटीसँग भने, 'पार्टीको प्रारम्भिक निर्वाचनमार्फत २०७९ सालको चुनावमा म पनि रास्वपाबाट समानुपातिक बन्दसूचीमा परेँ।'
त्यति बेला समानुपातिक सांसद हुन नसके पनि डुम्रेको राजनीतिक सक्रियता जारी रह्यो। उनले पार्टीका विभिन्न गतिविधिमा संलग्नता हुँदै आफ्नो सक्रियता बढाइरहे।
'सभापति लामिछाने जेल परेपछि पार्टीभित्र उत्पन्न विषम् परिस्थितिमा झन् बढी सक्रिय भएर लाग्नुपर्छ, पछाडि हट्नुहुन्न भन्ने लाग्यो', डुम्रेले भने, 'मैले त्यही बेला यसपालि चुनावमा उठ्ने निर्णय गरेँ।'
पार्टीमा सक्रिय भएकाले टिकट पाउनुअघि नै उनले स्याङ्जामा एक चरणको घरदैलो कार्यक्रम गरिसकेका थिए।
'गाउँका टोल टोलमा पुग्दा वृद्ध आमाबाहरू 'जितेर गएपछि नेताहरू फर्किँदैनन्, काम गर्दैनन्' भन्नुहुन्थ्यो,' डुम्रेले सम्झे, 'मैले उहाँहरूलाई झूटो आश्वासन दिइनँ। बाटो पिच गर्नुपर्यो भन्नेलाई प्राथमिकताका आधारमा इमानदारीका साथ कोसिस गर्छु भनेँ। उहाँहरूले मेरो यही इमानदारीलाई विश्वास गर्नुभयो।'
उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार थिए। २०७९ सालमा समानुपातिक सांसद बन्न नसके पनि यसपटक प्रत्यक्ष चुनावमा २५ हजार ३५४ मत ल्याएर विजयी हुँदै उनले संसदीय यात्रा तय गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८३० मत ल्याएका थिए भने नेकपा एमालेका खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याए।
'मेरो प्रतिस्पर्धा कडा थियो। अन्य दलका उम्मेदवार पनि सामाजिक जीवनमा भिजेका राम्रा व्यक्ति हुनुहुन्थ्यो,' डुम्रेले भने, 'मतदाताले रास्वपालाई जितायो भने देशमा परिवर्तन हुने आसमा मलाई भोट दिनुभएको हो।'
निर्वाचन बेला प्रत्यक्ष उम्मेदवार डुम्रेले भन्दा उनको निर्वाचन क्षेत्र पुगेर भाषण दिएकी समानुपातिक उम्मेदवार रिमा विश्वकर्माले धेरै चर्चा पाएकी थिइन्। चुनाव जितेपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री उम्मेदवार बालेन शाहलाई स्याङ्जा ल्याउने रिमाको प्रतिबद्धता थियो।
यसबारे प्रतिक्रिया दिँदै डुम्रेले भने, 'उहाँले चुनावपछि नेताहरू गाउँ फर्कँदैनन् भन्ने गुनासो सम्बोधन गर्न खोज्नुभएको हो। चुनाव जितेपछि पनि रवि लामिछाने र बालेन शाह स्याङ्जा आउनुहुन्छ भन्ने उहाँको भनाइ थियो।'
त्यति बेला चुनाव प्रचारप्रसार क्रममा रवि लामिछानेले स्याङ्जा नै पुगेर आफूलाई सहयोग गरेको डुम्रले बताए। प्रकाश सपुत र रमेश प्रसाईले पनि धेरै सहयोग गरेको उनको भनाइ थियो।
धेरै काम गर्न नसके पनि नेताहरू चुनाव जितेपछि गाउँ फर्किँदैनन् भन्ने जनगुनासो चिर्ने डुम्रे बताउँछन्।
'म देशमा ठूलै परिवर्तन ल्याउँछु भनेर ठूला कुरा गर्दिनँ। तर जहाँ छु, त्यहाँ राम्रो काम गर्ने प्रयास गर्छु,' डुम्रेले भने, 'जनताले दिएको विश्वास जोगाउनु नै मेरो पहिलो लक्ष्य हो।'
***