अमेरिकी विदेशमन्त्री मार्को रूबियो र रक्षामन्त्री पिट हेगसेथ बस्ने वासिङ्टनस्थित एक सैन्य शिविरमाथि अपरिचित ड्रोनहरू उडेको पाइएको छ।
पछिल्लो १० दिनमा एक रात रूबियो र हेगसेथ बस्ने फोर्ट लेस्ली जे म्याकनेयरमाथि धेरै ड्रोनहरू देखिएको भनेर द वासिङ्टन पोस्टले लेखेको छ।
डोनाल्ड ट्रम्पको सरकारका दुई वरिष्ठ मन्त्रीहरूको निवासस्थानमाथि अपरिचित ड्रोन उडेपछि उनीहरूको सुरक्षाबारे चिन्ता बढेको छ।
फोर्ट म्याकनेयरमाथि ड्रोनहरू देखिएपछि रुबियो र हेगसेथलाई अन्यत्र सार्ने विषयमा चर्चा भएको भनेर त्यसबारे जानकार अधिकारीहरूको हवाला दिँदै पोस्टले जनाएको छ।
ती ड्रोन कहाँबाट आएको र कसले चलाएको भनेर अझै खुलेको छैन।
अमेरिका र इसराइलले झण्डै तीन हप्ताअघि इरानसँग युद्ध सुरू गरेका थिए।
उपराष्ट्रपति जेडी भान्स युद्ध सम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेका छैनन्। त्यसैले ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका रुबियो र हेगसेथ यसमा संलग्न ट्रम्पपछिका सबभन्दा उच्च अधिकारीहरू हुन्।
अमेरिकाले पछिल्ला दिनमा विदेशमा रहेका कूटनीतिक नियोगहरूका लागि विश्वव्यापी सुरक्षा अलर्ट जारी गरेको छ भने खतराका कारण धेरै आन्तरिक सैन्य संरचनाहरूलाई 'लकडाउन' गरेको छ। यस्तो समयमा रुबियो र हेगसेथ बस्ने फोर्ट सैन्य बेसमा ड्रोनहरू देखिएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)