षट्कोण आर्टस्को निर्माणमा बनेको फिल्म 'लालीबजार' को पहिलो गीत 'मायालाई के दिऊँ म बैना' यतिबेला चर्चामा छ।
एक साताअघि सार्वजनिक गीतलाई युट्युबमा हालसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ।
दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको गीत टिकटक तथा फेसबुक रिल्समा पनि व्यापक रूपमा प्रयोग भइरहेको छ।
भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्य विशेष चर्चामा छ।
उनीहरूको डान्स स्टेपहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। गीतमा उनीहरूले गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रिल्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन्।
गीतमा गायक खेम सेञ्चुरीकै संगीत र श्यामश्वेत रसाईलीको एरेन्ज छ भने शब्द रमेश बिजीले लेखेका हुन्। लोक शैलीमा आधारित गीतको भिडिओको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन्।
अभिनेत्री स्वस्तिमा खड्काका अनुसार फिल्मको छायांकनकै बीच बीचमा गीतको अभ्यास गर्ने गरिएको थियो। उनले बालकलाकार समाइराको नृत्यले आफूलाई अझ मेहनत गर्न प्रेरित गरेको बताइन्।
स्वस्तिमाले भनिन्, 'हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको अभ्यास गथ्र्यौं। बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो। सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रूचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ।'
गीत कथासँगै अघि बढ्ने गरी तयार गरिएको निर्माण पक्षले जनाएको छ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्म 'लालीबजार' को प्रदर्शन आगामी बैशाख १८ गतेलाई तय गरिएको छ। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल लगायतको अभिनय छ।
फिल्मको पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।