शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी शुक्रबार साँझ चिनियाँ र नेपाली गीत संगीतको अनुपम सङ्गम बन्यो।
तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन तथा ध्यान दिवसको विशेष अवसरमा आयोजित 'लुम्बिनी पिस कन्सर्ट' ले केन्द्रीय नहर छेउको स्क्वायर थिएटरलाई प्रेम र सद्भावको धुनले गुञ्जायमान तुल्यायो।
नेपाली र चिनियाँ कलाकारहरूको संयुक्त प्रस्तुति रहेको उक्त साङ्गीतिक साँझमा दुई देशबीचको सांस्कृतिक सम्बन्धको प्रगाढ स्वरूप देखिन्थ्यो।
चिनियाँ परम्परागत वाद्यवादन र नेपाली मौलिक धुनहरूको मिश्रणले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रमको सुरूदेखि अन्त्यसम्म चिनियाँ गीत-सङ्गीतको मधुर लहरले स्क्वायर थिएटरको वातावरण शुक्रवार साझ ६ बजेदेखि ९ बजेसम्म उत्सवमय बन्यो।
पर्यटन र शान्तिको सन्देश फैलाउने उद्देश्यले आयोजित पिस कन्सर्टमा लुम्बिनी भ्रमणमा रहेका चिनियाँ पर्यटकहरूका साथै स्थानीय बासिन्दाहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो। विदेशी पर्यटक र स्थानीय समुदाय एकै ठाउँमा बसेर सङ्गीतको आनन्द लिइरहँदा लुम्बिनीले विश्वव्यापी भ्रातृत्वको सन्देश दिइरहेको भान हुन्थ्यो।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको विशेष उपस्थिति रहेको थियो। कलाकारहरूको हौसला बढाउँदै राजदूत माओमिङले यस्ता कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। सङ्गीतको माध्यमबाट शान्तिको साझा एजेन्डालाई अगाडि बढाउन पाउनु गौरवको विषय भएको उनको भनाइ थियो।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको जन्मथलोमा घन्किएका शान्तिका धुनहरूले लुम्बिनीलाई विश्वकै प्रमुख शान्ति गन्तव्यको रूपमा पुनःपरिभाषित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताए।
बिहीबारदेखि सुरू भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलन र ध्यान दिवसको अवसरमा शनिबार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति दौड आयोजना गरिएको छ।







