चर्चित हास्य सिरियल 'सक्किगोनि' को प्रसारण रोकिएको एक वर्षभन्दा बढी भइसकेको छ। यो सिरियल पुनः प्रसारणमा आउने/नआउनेबारे आधिकारिक घोषणा भने अझै गरिएको छैन।
यसैबीच 'सक्किगोनि' का चर्चित कलाकारहरूले नयाँ सिरियल ल्याउने घोषणा गरेका छन्। कलाकारहरूले 'विजोग रमाइलो' शीर्षकमा सिरियल दर्शकमाझ ल्याउने तयारी गरेका हुन्।
शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा 'सक्किगोनि' का अधिकांशजसो कलाकारहरू देखिएका छन्। कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे' भने पोस्टरमा छैनन्।
'सक्किगोनि' सिरियलमा कलाकार बबिन राईको पात्र गल्फने बाजेले बोल्ने थेगो 'बिजोग रमाइलो' लाई शीर्षक बनाएर नयाँ सिरियल ल्याउन लागेको देखिन्छ। सिरियललाई हरिश निरौला (कक्रोज) ले लेखन तथा निर्देशन गर्नेछन्।
सेतोपाटीसँग कुरा गर्दै हरिशले केही दिनमा सिरियलबारे विस्तृत जानकारी दिइने बताए। उनले भने, 'सक्किगोनि रोकिएको १ वर्षभन्दा बढी भयो। कलाकारहरू पनि होल्डमा थियौं। यसरी बस्नुभन्दा मिलेर केही गरौं भन्ने सल्लाह भएपछि तयारी थाल्यौं।'
कमेडी जनरामा बन्ने सिरियलमा समसामयिक सामाजिक कथावस्तु समेटिने छ। हरिश निरौला, सागर लम्साल, कमलमणी नेपाल, दीपक आचार्य, बबिन राई, सुबोध गौतम, गोविन्द कोइराला, सुरक्षा इटानी, भावना आचार्य, सुस्मिता कुवँर, पुरूषोत्तम आचार्य, अशोक धिताल, गजित विष्ट, रामभजन कामतलगायतले सिरियलमा अभिनय गर्नेछन्।
सार्वजनिक पोस्टरले कलाकारहरू 'सक्किगोनि' मा निर्वाह गरेको पात्रमै देखिने संकेत गर्छ। तर यसबारे आधिकारिक पुष्टि गरिएको छैन। सिरियलको प्रसारण मिति केही दिनमै तय हुने निर्देशक हरिशले बताए।
यो पनि पढ्नुहोस्ः 'बिजोग रमाइलो छ' भन्दै हिट भएका गल्फने बाजे (भिडिओ)