बलिउडको चर्चित वार ड्रामा फिल्म 'बोर्डर २' अब ओटिटीमा स्ट्रिमिङ हुने भएको छ।
गत माघमा थिएटरमा रिलिज फिल्मले दर्शकको मन जित्दै विश्वभर ४ सय करोड भारूभन्दा बढी कमाइ गरेको थियो।
थिएटरमा नहेर्ने दर्शकका लागि लक्षित गर्दै अब यो फिल्म ओटिटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ हुने भएको हो।
नेटफ्लिक्सले बिहीबार छोटो भिडिओ सार्वजनिक गर्दै रिलिज घोषणा गरेको छ। जसअनुसार फिल्म २० मार्च (चैत ६) शुक्रबारदेखि नेटफ्लिक्समा रिलिज हुन लागेको जानकारी दिइएको छ।
अनुराग सिंहद्वारा निर्देशित 'बोर्डर २' मा सनी देओल, वरूण धवन, अहान शेट्टी र दिलजीत दोसांझ, मोना सिंह, अन्या सिंह, मेधा राणा र सोनम बाजवालगायत कलाकारहरूको अभिनय छ।
भूषण कुमार, निधि दत्ता, जेपी दत्ता र कृष्ण कुमारद्वारा निर्मित यो फिल्म सन् १९९७ को क्लासिक बोर्डरको सिक्वेल हो। भारत-पाकिस्तान युद्धको पृष्ठभूमिमा यसको कथा आधारित छ।
फिल्मले नेपालमा समेत राम्रो कमाइ गरेको थियो।