भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि भारतसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। नेपालमा पनि फिल्म बिहीबार एकसाथ रिलिज हुँदैछ।
नेपालका सिनेमा हलले यो फिल्मलाई ठूलो संख्यामा शो दिएका छन्। बिहीबारको लागि नेपालमा फिल्मले ३२५ शोज पाएको जनाइएको छ।
शो संख्या र बुकिङ हेर्दा फिल्मले आक्रामक ओपनिङ गर्ने देखिएको छ। प्रमुख सहरका मुख्य मल्टिप्लेक्समा एड्भान्स टिकट बिक्री तीव्र भइरहेको देखिन्छ।
आदित्य धर निर्देशित स्पाइ–एक्सन थ्रिलर 'धुरन्धर: द रिभेन्ज' मा रणवीरसहित सारा अर्जुन, संजय दत्त, राकेश वादीलगायत कलाकारहरूको अभिनय छ।
फिल्मले पाकिस्तानविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्छ। फिल्मको कथा पाकिस्तानको कराँचीस्थित लियारी टाउन वरिपरि फैलिएको आपराधिक संसार र जासुसी गतिविधिसँग जोडिएको छ। पहिलो भागपछि यसको कथा अगाडि बढ्दै जाने जनाइएको छ।
यसको अघिल्लो भाग 'धुरन्धर' ले नेपालमा १० करोड रूपैयाँमाथिको कमाइ गरेको थियो। सोहीकारण नेपालका दर्शकमाझ पनि सिक्वेल प्रतीक्षित थियो।
पहिलो भागभन्दा लामो छ फिल्म
फिल्मको रनटाइम पहिलो भागभन्दा अझ लामो छ। पहिलो भागको अवधि २१४ मिनेट रहेकोमा 'धुरन्धरः द रिभेन्ज' को अवधि २२९ मिनेट अर्थात ३ घण्टा ४९ मिनेट पुगेको छ। यो अवधि 'धुरन्धर' भन्दा १५ मिनेट लामो हो।
योसँगै 'धुरन्धर २' बलिउड फिल्मको इतिहासमै लामो फिल्ममध्ये एक बनेको छ। फिल्मले सेन्सर बोर्डबाट 'ए' प्रमाणपत्र प्राप्त गरेको छ। यसको अर्थ फिल्मलाई केवल वयस्क (१८ वर्षभन्दा माथि) का दर्शकले मात्र हेर्न पाउनेछन्।