भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' अर्थात 'धुरन्धरः द रिभेन्ज' ले पेड प्रिभ्यूबाट ठूलो आम्दानी गरेको छ।
फिल्मले पेड प्रिभ्यूमार्फत विश्वभर ७५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मको बुधबार साँझ विश्वभरका चुनिएका हलहरूमा सशुल्क प्रिभ्यू शो आयोजना गरिएको थियो।
भारतमा मात्र ६ हजार स्क्रिनमा ९ हजार शो गरिएको थियो। यसबाट फिल्मले घरेलु रूपमा नेट ४४ करोड (ग्रस ५२.५० करोड) भारू आम्दानी गरेको छ। प्रिभ्यू शोको यो कमाइ नयाँ सर्वकालीन रेकर्ड भएको बताइएको छ।
त्यस्तै, विदेशी बजारमा 'धुरन्धर २' ले भारतीय फिल्महरूमध्ये अहिलेसम्मकै सबभन्दा ठूलो प्रिमियर कलेक्शन गर्दै २५ लाख अमेरिकी डलर कमाएको जनाइएको छ। जसमा विशेषगरी उत्तर अमेरिकामा प्राप्त उत्कृष्ट प्रदर्शनको ठूलो योगदान रहेको छ। यसअघि १२ लाख डलरको रेकर्ड 'एनिमल' ले बनाएको थियो।
विश्वव्यापी रूपमा 'धुरन्धर २' ले पेड प्रिभ्यूबाटै ७५ करोड भारू कमाएको छ। यो आम्दानी हालै प्रदर्शनमा आएको एक्सन फिल्म 'बागी ४' ले आफ्नो सम्पूर्ण प्रदर्शन अवधिभर कमाएको रकमभन्दा पनि बढी हो। टाइगर श्राफ अभिनित उक्त फिल्मले गत वर्ष आफ्नो प्रदर्शन अन्त्य गर्दा ७४.५० करोड भारू मात्र कमाएको थियो।
बिहीबारदेखि नेपालमा पनि एकसाथ प्रदर्शनमा
आदित्य धर निर्देशित 'धुरन्धर २' बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको छ। नेपालमा पनि यो फिल्म एकसाथ रिलिज भएको छ। र, सिनेमा हलले यो फिल्मलाई ठूलो संख्यामा शो दिएका छन्। शो संख्या र बुकिङ हेर्दा फिल्मले नेपालमा पनि आक्रामक ओपनिङ गर्ने देखिएको छ।
'धुरन्धर २' मा रणवीर सिंहबाहेक आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायतको अभिनय छ।
जासूसी एक्सन थ्रिलर फिल्मले पाकिस्तानविरूद्ध लड्ने भारतीय जासूसी मिसनको कथा भन्छ। फिल्मको कथा पाकिस्तानको कराँचीस्थित लियारी टाउन वरिपरि फैलिएको आपराधिक संसार र जासुसी गतिविधिसँग जोडिएको छ।
पहिलो भागपछि यसको कथा अगाडि बढ्दै जाने जनाइएको छ।
यसको अघिल्लो भाग 'धुरन्धर' ले नेपालमा १० करोड रूपैयाँमाथिको कमाइ गरेको थियो। सोहीकारण नेपाली दर्शकमाझ पनि सिक्वेल प्रतीक्षित थियो।