नेपाल र हङकङबीच चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले दशरथ रंगशालाको प्रयोगमा अनुमति नदिएको भन्दै खेल स्थगित भएको जनाकारी दिएको हो।
‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो,’ एन्फाको भनाइ छ।
‘तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ।’
खेलका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले ४६ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेर तयारी थालेका थिए।
नेपालले एक वर्षमा दोस्रो पटक हङकङसँग खेल्न लागेको थियो। यसअघि हङकङमा गत जुनमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो।
एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ। यसअघि पाँच खेलमा लगातार पराजित भइसकेको नेपाल बाहिरिसकेको छ।
नेपालले अन्तिम खेलमा लाओससँग खेल्ने तय छ। चैत १७ गते हुने खेल होम म्याच भए पनि नेपालमा खेल हुनेछैन।