अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक कारण देखाउँदै राष्ट्रिय लिग स्थगित गरेको छ।
लिगमा सहभागी १७ क्लबलाई पत्राचार गर्दै एन्फाले ‘प्राविधिक कारणवश’ भन्दै ३८ वटा खेल स्थगित गरेको छ।
‘उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटवल संघको आयोजनामा मिति २०८२ पौष ३० गतेबाट संचालन भइरहेको राष्ट्रिय लिग प्रतियोगिता २०८२ अन्तर्गत म्याच नं ९७ र १००-१३६ का खेलहरु प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभय सम्मको लागि स्थगित गरिएको जानकारी गराउँदछु,’ एन्फाका सिइओ इन्द्रमान तुलाधरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि बिहीबार नै अध्यागमन विभागले राष्ट्रिय लिगमा पर्यटक भिसामा रहेका विदेशी खेलाडी खेलाइएको विषयमा छानविन थालेको थियो।
नेपालमा खेलिरहेका ३८ बढी विदेशी खेलाडीको छानविन गर्दै अध्यागमन
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको सहिद स्मारक महिला लिग र पुरुषको राष्ट्रिय लिगमा सहभागी भएका कतिपय विदेशी खेलाडीले पर्यटक भिसा लिएर गैरकानुनी रुपमा खेलेको उजुरी परेपछि अध्यागमन विभागले छानविन थालेको छ।
बिहीबार केही व्यक्तिले उजुरी दिएपछि विभागले एन्फालाई पत्राचार गर्दै पर्यटक भिसामा रहेका विदेशीलाई लिगमा सहभागी नगराउन निर्देशन समेत दिइसकेको छ।
‘सामान्यतया पर्यटक भिसामा आएका विदेशी नागरिकलाई कुनै पनि काम गर्न प्रतिबन्ध लगाइएको छ। अहिले अनौपचारिक रूपमा ३८ जना विदेशी खेलाडी रहेको जानकारी प्राप्त भएको छ,’ अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले सेतोपाटीसँग भने, ‘तीमध्ये कसैले श्रम स्वीकृति लिएको र कसैले नलिएको भन्ने सुनिएको छ। हामीले आजको खेलमा पनि विदेशी खेलाडी भएको अनौपचारिक जानकारी पाएकाले विवरण मागिरहेका छौँ। विभागले भोलिसम्ममा श्रम स्वीकृतिको प्रक्रिया पूरा नभए खेल नखेलाउनु भनेर उनीहरूलाई मौखिक रूपमा निर्देशन दिइसकेको छ। उनीहरूले प्रक्रिया सुरु गरेको तर समय लाग्न सक्ने बताएका छन्। अब जुन रूपमा प्रक्रिया अगाडि आउँछ, हामी त्यही अनुसार गर्छौँ।’
ढकालले यस विषयमा विभागमा उजुरी आएपछि मात्र थाहा भएको बताए। साथै सम्बन्धित पक्षसँग सबै विवरण माग गरिएको पनि बताए।
‘विवरण माग गरेर अनुगमन गरेपछि मात्र सबै थाहा हुन्छ। हामीले भोलिसम्म स्वीकृति लिएर आउनु भनेका छौँ। भोलि पनि खेल भयो भने हामी अनुगमनमा जान्छौँ। उनीहरूले भोलिसम्म पर्खिदिन आग्रह गरेकाले मात्र हामी आज नगएका हौँ,’ उनले भने।
यसअघि विभागले एन्फालाई बिहीबार नै पत्राचार गरेर पर्यटक भिसामा रहेका खेलाडीलाई नियमविपरित खेलाइएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो।
पर्यटन भिसामा रहेका विभिन्न देशका खेलाडीले एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरूष लिगमा सहभागी भएर खेलेको उजुरी परेपछि विभागले एन्फालाई पत्राचार गरेको हो।
‘अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सो बाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको व्यहोरा विदितै छ,’ विभागले लेखेको पत्रमा भनिएको छ, ‘त्यस संघबाट सञ्चालन भएको राष्ट्रिय महिला/पुरूष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजूरी यस विभागमा प्राप्त हुन आएको छ।’
विभागले विदेशी खेलाडीलाई खेलाउनु पर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध समेत गरेको छ।
‘यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारवाही अगाडि बढाईने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ,’ विभागले भनेको छ।