कोलकाता नाइट राइडर्स (केकेआर) ले आगामी आईपीएल २०२६ का लागि घाइते आकाश दीपको स्थानमा विदर्भका बायाँ हाते तीव्र गतिका बलर सौरभ दुबेलाई टोलीमा अनुबन्ध गरेको छ।
केकेआरका सीईओ भेन्की मैसूरले कोलकातामा भइरहेको अभ्यास खेलका क्रममा यसबारे जानकारी दिएका हुन्।
२८ वर्षीय सौरभ दुबेले अहिलेसम्म आईपीएलमा डेब्यू गरेका छैनन्। रोचक कुरा के छ भने, उनले पछिल्लो साढे दुई वर्षदेखि कुनै पनि ठूलो स्तरको क्रिकेट खेलेका छैनन्। उनले अन्तिम पटक अक्टोबर २०२३ मा विदर्भका लागि टी-२० खेल खेलेका थिए।
यद्यपि, उनले गत वर्ष 'विदर्भ प्रो टी-२० लिग' मा ओरेन्ज टाइगर्सका लागि उत्कृष्ट प्रदर्शन गरेर सबैको ध्याँन तानेका थिए।
सन् २०२२ मा उनलाई सनराइजर्स हैदराबादले किनेको थियो, तर चोटकै कारण उनले खेल्न पाएका थिएनन्। उनी मुम्बई इन्डियन्समा नेट बलरको रूपमा पनि रहिसकेका छन्। सन् २०१९ को 'एसीसी इमर्जिङ टिम्स एसिया कप' मा उनी भारतका लागि सबैभन्दा धेरै विकेट लिने बलर बनेका थिए।
केकेआरले घाइते आकाश दीप र हर्षित रानाको विकल्प खोज्नका लागि कोलकातामा ट्रायल राखेको थियो। उक्त ट्रायलमा नवदीप सैनी, केएम आसिफ, सिमरजित सिंह, आकाश मधवाल र सन्दीप वारियर जस्ता अनुभवी बलरहरू पनि सहभागी थिए।
तर प्रशिक्षक अभिषेक नायर र अन्य प्रशिक्षकहरू दुबेको बलिङ र उनको अग्लो कदबाट निकै प्रभावित भए। सीईओ मैसूरले भने, ‘प्रशिक्षकहरू उनलाई देखेर उत्साहित भए र आकाश दीपको ठाउँमा उनलाई नै टोलीमा राख्ने निर्णय गरे।’
आकाश दीपको कम्मरको चोटका कारण उनलाई निको हुन करिब ३ महिना लाग्नेछ, जसले गर्दा उनी आईपीएलबाट बाहिरिएका हुन्। हर्षित राना पनि घुँडाको चोटबाट पीडित छन्। मतिशा पाथिराना टी-२० विश्वकपका बेला घाइते भएकाले सिजनका सुरुवाती केही खेलहरू गुमाउनेछन्। उनी अप्रिलको मध्यतिर टोलीमा फर्कने अपेक्षा गरिएको छ।
अब केकेआरको बलिङ टोलीमा सौरभ दुबेसँगै मतिशा पाथिराना, ब्लेसिङ मुजराबानी, वैभव अरोरा, कार्तिक त्यागी र उमरान मलिक जस्ता बलरहरू रहेका छन्। साथै अलराउन्डर क्यामरुन ग्रीन पनि तीव्र गतिको बलिङका लागि उपलब्ध छन्।