नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा सात महिनादेखि प्रदेशसभा बैठकमा अनुपस्थित छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाश अमेरिकामा छन्। उनले आरजु राणा देउवाको स्वकीयका रूपमा पनि काम गरेका थिए।
उनी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै अमेरिका गएका थिए, आजसम्म फर्केका छैनन्। उनले यसको जानकारी आफ्नो पार्टी, प्रदेशसभा र प्रदेश सरकार कसैलाई दिएका छैनन्।
उनी लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहेपछि तलब भत्तासमेत रोकिएको छ।
सुदूरपश्चिम प्रदेशसभा नियमावली २०८० को धारा १९३ अनुसार निरन्तर १० वटा बैठकमा बिनासूचना अनुपस्थित भए प्रदेशसभा सदस्य पद नै रिक्त हुन्छ।
सुदूरपश्चिम प्रदेशमा सात महिनायता सातवटा बैठक चलेको छ। त्यही कारण प्रकाशको सांसद पद भने गइसकेको छैन।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले सांसद प्रकाश देउवा कहाँ छन् भन्ने पार्टीलाई औपचारिक जानकारी नरहेको बताए।
'भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उहाँ सुदूरपश्चिम आउनुभएको छैन। उहाँ अमेरिकामा हुनुहुन्छ भन्ने सुन्छु, तर कहाँ हुनुहुन्छ हामीलाई औपचारिक जानकारी दिनुभएको छैन,' उनले सेतोपाटीसँग भने, 'उहाँ पार्टी संसदीय दलको सम्पर्कमा पनि हुनुहुन्न।'
प्रदेशसभा बैठकमा अनुपस्थित रहेपछि उनको तलबभत्ता सुदूरपश्चिम प्रदेशसभाले रोकेको भन्ने आफूले सुनेको धामीले बताए।
'यो प्रदेशसभा सचिवालयको कुरा हो, तलब भत्ता रोकिएको छ भन्ने सुनेको हुँ। सांसदको तलब भत्ताको विषय प्रदेशसभा सचिवालयले दललाई जानकारी दिने गरेको पनि छैन,' उनले भने।
प्रकाशनिकट कांग्रेसका एक नेताले पनि उनी अमेरिकामा रहेको बताए।
'उहाँ अमेरिका जानुभएको थियो, एक पटक कुराकानी भएको थियो। उहाँ उतै बस्नुभयो जस्तो छ। पूर्वमन्त्री र सांसद भएको व्यक्ति किन बस्नुपर्थ्यो? उतै बस्न मन भए पनि स्वदेश आएर कार्यकाल सकिएपछि गएको भए हुन्थ्यो। उहाँहरूलाई भिसा नलाग्ने, नदिने भन्ने कुरा हुँदैन्थ्यो होला,' ती नेताले भने।
यसबीच प्रकाशसँग सम्पर्क भएका कांग्रेस नेताहरूका अनुसार उनी राष्ट्रियसभा निर्वाचनअघि नै स्वदेश फर्कन्छु भन्थे। माघ ११ मा राष्ट्रियसभा निर्वाचन भयो तर उनी स्वदेश आएनन्। राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य मतदाता हुन्छन्।
यसबारे हामीले प्रतिक्रिया लिन प्रकाश देउवालाई ह्वाट्सएपमा सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन्। फोन गर्दा काटे। लिखित प्रश्न मेसेजमा पठाउँदा त्यसको उत्तर पनि दिएनन्।
२०७९ को प्रदेशसभा निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित भएका थिए।
त्यसपछि उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आकांक्षी थिए, तर कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह बने। उनै मुख्यमन्त्री छन्। प्रकाश भने केही समय भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए।
प्रकाशनिकट नेताहरूका अनुसार पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउन जोडबल नगरेको र त्यसमा तत्कालीन सभापति शेरबहादुर देउवाबाट पनि उचित सहयोग नपाएको भन्दै प्रकाश असन्तुष्ट देखिन्थे।
त्यसपछि शेरबहादुर देउवाको परिवारसँग प्रकाशको 'खटपट भएको र सम्बन्ध सुमधुर नरहेको' चर्चासमेत कांग्रेसभित्र हुने गरेको थियो।
अहिले प्रकाश अमेरिकामै छन् भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु हङकङमा छन्।
पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी पत्नी आरजु राणासहित शेरबहादुर हङकङमा हिँडिराखेको भिडिओ सार्वजनिक भएको थियो।
उक्त भिडिओ सञ्चार माध्यमहरूमा आएको भोलिपल्ट देउवाको सचिवालयले उनीहरू हङकङमा रहेको उल्लेख गरेको छ।
देउवा सिंगापुरमा नियमित उपचार सकेर हङकङ प्रस्थान गरेको, हङकङमा थप उपचार तथा पारिवारिक कार्यक्रममा भाग लिएर नेपाल फर्कने तय भएको जानकारी सचिवालयले दिएको हो।
पूर्वप्रधानमन्त्री देउवालाई स्वास्थ्यसम्बन्धी के समस्या आएको हो र सिंगापुरको कुन अस्पतालमा कति दिन, केसम्बन्धी उपचार गरियो र हङकङको कुन अस्पतालमा के उपचार गर्ने भन्नेजस्ता विस्तृत विवरण सचिवालयले खुलाएको छैन।
देउवा विगतमा पनि उपचारका लागि सिंगापुर जाने गरेका थिए।
भदौ २४ गते जेनजी आन्दोलन क्रममा देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित घरभित्रै प्रदर्शनकारीहरूले आक्रमण गरी घाइते बनाएका थिए।
केही समय स्वदेशमै उपचार गरेका उनीहरू केही समयपछि सिंगापुर गएर थप उपचार गरेका थिए।
कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती उपचार सकेर कात्तिक २८ गते स्वदेश फर्किएका थिए। उनीहरू त्यस बेला १८ दिन सिंगापुर बसे। तर कुन अस्पतालमा के उपचार गरिएको थियो भन्ने त्यसबेला पनि विस्तृत खुलाइएको थिएन।
पछिल्लो समय चुनावअघि देउवा दम्पती विदेश उडेका थिए।
पूर्वप्रधानमन्त्री देउवाको भतिजसमेत रहेका स्वकीय सचिव भानु देउवाका साथ सिंगापुर एयरलाइन्सको एसक्यू ४४२ उडानमार्फत् फागुन १४ गते सिंगापुर उडेका थिए। त्यसको पाँच दिनअघि नै पूर्वपरराष्ट्र मन्त्री आरजु राणा भारत पुगेकी थिइन्।
पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्री विदेश गएको कुरा उनीहरूको सचिवालयले त्यस बखत औपचारिक जानकारी दिएको भने थिएन, सञ्चार माध्यमहरूमा समाचार भने आएको थियो।
केही दिनपछि पूर्वपरराष्ट्र मन्त्री राणाले भारतको उज्जेनस्थित महाकालेश्वोर मन्दिर दर्शन गरेको फोटो सार्वजनिक भएको थियो। उनी भारत किन गएकी थिइन्, कति दिन बसिन् र त्यहाँबाट कहाँ गइन् भन्ने जानकारी आएको थिएन।
एक्कासि पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी राणा शेरबहादुर देउवाका साथ हङकङमा हिँडिराखेको भिडिओ सञ्चार माध्यमहरूमा आएको थियो। त्यसपछि देउवाको सचिवालयले उनीहरू दुवै जना हङकङमा रहेको जानकारी गराएको हो।
पूर्वपरराष्ट्र मन्त्री राणा पुस २१ गते पनि भारत गएकी थिइन्। केही दिनमै स्वदेश फर्किइन्। त्यस बेला पनि उनी किन भारत गएको भन्नेबारे सचिवालयले जानकारी दिएको थिएन। सञ्चार माध्यमहरूमा आएका खबरमा स्वास्थ्य उपचारकै सिलसिलामा उनी भारत गएको भनिएको थियो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्री देउवा र उनको परिवारका सदस्य विदेश आउजाउ गरिरहेका छन्। देउवा दम्पतीका छोरा जयवीर सिंह देउवा भने लामो समयदेखि विदेशमै रहेको पारिवारिक स्रोतले बताएको छ।
देउवाका अर्का भतिज तथा उनका स्वकीय सचिव भानु देउवा केही समयअघिसम्म विदेशमै थिए। उनले सेतोपाटीसँग कुरा गर्दै आफू नेपाल फर्किसकेको बताए।
देउवा दम्पती पनि छिट्टै नेपाल फर्किने उनले जानकारी दिए।
'उहाँहरू अब १० दिनमा स्वदेश आउनुहोला, उहाँहरू अहिले हङकङमा हुनुहुन्छ, बिहीबार एउटा चेकअप छ, त्यसपछि स्वदेश आउने दिन तय हुन्छ, ' उनले सेतोपाटीसँग भने, 'म चाहिँ सिंगापुरबाट स्वदेश फर्किसकेँ।'
उनका अनुसार पूर्वप्रधानमन्त्री देउवा पेटसम्बन्धी पुरानै समस्याको फलोअप उपचार र जेनजी आन्दोलन क्रममा टाउकोमा लागेको चोटसम्बन्धी उपचार क्रममा सिंगापुर र हङकङ गएका हुन्।