विराटनगरमा सुरू भएको पहिलो अनिल–मीन ट्रफी क्रिकेटमा मोरङले विजयी सुरूआत गरेको छ।
नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरेको छ।
जितसँगै ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ।
टस जितिर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभरको खेलमा २७ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो।
मोरङका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिक पोखरेलले सर्वाधिक ३२ रन बनाउँदै टिमको स्कोर उकासेका थिए। उनलाई साथ दिँदै सुवास रायले १३ रनको योगदान गरेका थिए।
प्रतिक ब्याटिङका लागि क्रिजमा आउँदा मोरङ ४३ रनमा ६ विकेट गुमाएको दयनीय अवस्थामा थियो। उनले सम्हालिएर व्याटिङ गर्दै टोलीको स्कोर अघि बढाएका थिए।
सुनसरीका लागि किफायती बलिङ गरेका कविराज खत्रीले ९ दशमलव ३ ओभरमा ५ ओभर मेडन राख्दै ५ विकेट लिएका थिए। त्यसक्रममा उनले २१ रन मात्रै दिएका थिए।
सुनसरीका लागि कृष्ण विष्ट र रविन मण्डलले १–१ विकेट लिएका थिए।
१ सय १५ लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको सुनसरी १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५५ रनमै खुम्चिएको थियो।
सुनसरीका रोशन खत्रीले सर्वाधिक १७ रन बनाउँदा अफन ताहिरले ११ रनको योगदान दिएका थिए।
मोरङका लागि कृष शर्माले ७ दशमलव ४ ओभरमा २ मेडन राख्दै १७ रन दिएर ५ विकेट लिँदा सुनसरी सस्तैमा समेटिएको थियो। कृतिक कामतले २ ओभरमा २ रन दिएर ४ विकेट तथा प्रतिक पोखरेलले १ विकेट लिए।
खेलमा प्लेयर अफ म्याच मोरङका प्रतिक पोखरेल भए। उनले ३२ रन बनाउनुको साथ सुनसरीका २ जना ब्याटरको क्याच समेत दिएका थिए।
शनिबारसम्म हुने प्रतियोगितामा मोरङ र सुनसरीका दुई टिम सहभागी छन्।
कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए। प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उनले बताए।
मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए। उनीहरूको सम्मानका लागि प्रतियोगिता गरिएको उनले जानकारी दिए।
प्रतियोगिता ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने आयोजकले जनाएको छ।