भिनिसियस जुनियरको उत्कृष्ट दुई गोलको सहयोगमा रियल मड्रिडले 'मड्रिड डर्बी' मा आफ्नो छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पराजित गरेको छ।
यो रोमाञ्चक जितसँगै रियलले ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ।
खेलको पहिलो हाफमा एट्लेटिको मड्रिडले १-० को अग्रता लिएको थियो। प्रशिक्षक डिएगो सिमिओनीका छोरा जुलियानो सिमिओनीको राम्रो पासमा एडेमोला लुकम्यानले गोल गर्दै एथ्लेटिकोलाई अघि बढाएका थिए।
दोस्रो हाफमा रियल मड्रिडले आक्रामक खेल खेल्यो। ब्राहिम डियाजलाई डि-बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि फेडेरिको भाल्भर्डेले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए।
एथ्लेटिकोका नाहुएल मोलिनाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएपछि खेल २-२ को स्थितिमा पुग्यो। तर, त्यसको ६ मिनेटपछि नै भिनिसियसले फेरि अर्को गोल गर्दै रियललाई ३-२ को निर्णायक अग्रता दिलाए। यो उनको पछिल्लो ११ खेलमा १० औं गोल हो।
इङ्गल्याण्डका ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्ड मैदान प्रवेश गरेर भिनिसियसको गोलका लागि राम्रो पास मिलाएका थिए। त्यस्तै, चोटका कारण १० खेल गुमाएका जुड बेलिङ्घमले पनि यसै खेलबाट मैदानमा पुनरागमन गरे। केलियन एमबाप्पे पनि दोस्रो हाफमा मैदान छिरेका थिए।
खेलको अन्त्यतिर फेडेरिको भाल्भर्डेले एलेक्स बाएनालाई खराब फाउल गरेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिनु पर्यो। १० खेलाडीमा सीमित भएपछि रियललाई अन्तिम समयमा एथ्लेटिकोले निकै दबाब दियो। एथ्लेटिकोका जुलियन अल्भारेजको प्रहार पोस्टमा लागेर फर्किएपछि रियल हारबाट जोगियो।
यो जित रियल मड्रिडका लागि निकै महत्त्वपूर्ण छ किनभने सन् २०२२ को सेप्टेम्बरपछि स्पेनिस लिगमा एथ्लेटिकोलाई हराउन सकेको थिएन। आइतबारै भएको अर्को खेलमा बार्सिलोनाले जित निकालेर ७ अंकको अग्रता बनाएको थियो, तर यो जितपछि रियलले बार्सिलोनालाई पछ्याउने क्रम जारी राखेको छ।