केही समयदेखि उच्च दरमा बढिरहेको नेप्से परिसूचक सोमबार सामान्य मात्रै बढ्यो।
दिनभर उच्च उतार–चढावमा देखिएको नेप्से अन्तिम आधा घन्टापछि एकोहोरो वृद्धि भयो। बजार बन्द हुँदा नेप्से परिसूचक अघिल्लो दिनकोभन्दा ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुग्यो।
अघिल्ला तीन दिनदेखि बजार दोहोरो अंकले बढिरहेकामा आइतबार सामान्य मात्र बढेपछि अब नेप्सेले कुन प्रवृत्ति समात्छ भनेर लगानीकर्ता अन्योलमा छन्।
नेप्सेको मैनबत्ती चित्रमा गत बिहीबार र आइतबार दुवै दिन लामो हरियो मैनबत्ती आकृति बन्यो। सोमबार भने निकै सानो शरीर भएको, शरीरको आकारभन्दा दोब्बर लामो तल्लो धागो बनायो। माथिल्लो धागो सानो वा नभएझैं नै बनायो।
सोमबार 'ह्यांगिङ म्यान' आकृति बनेको छ। यसले बजारमा बिक्री चाप उच्चले बढेको संकेत गर्छ। अनि बिक्री चाप थप बढ्न सक्ने संकेत गर्छ।
यसले बजार बुलिस प्रवृत्तिबाट बियरिस प्रवृत्तिमा जान सक्ने सम्भावना पनि देखाउँछ। तर, यस्तो सम्भावना ज्यादै न्यून वा मध्यम हुने विश्लेषण गरिन्छ।
त्यसैले मंगलबारको कारोबार हेरेर नै लगानीकर्ताले सेयर किनबेचको निर्णय गर्नु सही हुन्छ।
नेप्सेका ५० दिने र २ सय दिने मुभिङ एभरेज रेखाले भने अहिले पनि दुरी कायमै राखेको छ। केही दिनअघि यसमा भएको गोल्डेन क्रस–ओभर अझै कायम छ। यसले बजार अहिले पनि बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ।
अहिले वाणिज्य बैंक, विकास बैंकमा पनि नेप्सेमा जस्तै प्रवृत्ति देखिएको छ। मैनबत्ती चित्रले यी दुवै समूहमा सोमबार ह्यांगिङ म्यान आकृति बनेको देखाएको छ भने गोल्डेन क्रस–ओभर कायमै छ।
लघुवित्त कम्पनी समूहमा बिहीबारदेखि सोमबारसम्म यसमा डेलिब्रेसन बियरिस आकृति बनेको छ। अघिल्लो दुई दिन लामो हरियो मैनबत्ती बनेको छ।
सोमबार भने मैनबत्ती चित्रले दोजी आकृति बनाएको छ। सानो शरीर भएको र दुवैतर्फ लामो धागो भएको दोजी आकृति बनेको हो।
यसले लघुवित्त समूहको परिसूचक बढ्छ र यस्तो परिसूचक घट्छ भनेर विश्वास गर्ने लगानीकर्ताहरू बराबरीको संख्यामा रहेको संकेत गर्छ। यसले यो समूहमा बुलिस प्रवृत्ति कमजोर भइरहेको देखाइरहेको छ। यसले पनि बजार बियरिस प्रवृत्तिमा जान सक्ने संकेत गर्छ।
यो संकेत दरिलो संकेत भने होइन।
निर्जीवन बीमा समूहमा पनि डेलिब्रेसन बियरिस आकृति बनेको छ। जीवन बीमा समूहमा सोमबार रातो मैनबत्ती आकृति बनेको छ। यसले जीवन बीमा समूह केही दिन घट्न सक्ने संकेत गरिरहेको छ।
त्यस्तै, वित्त कम्पनी समूहमा पनि सोमबार दोजी आकृति बनेको छ।
जलविद्युत समूहमा भने आइतबार नै दोजी आकृति बनेको थियो। सोमबार आइतबारको दोजी आकृतिभन्दा माथि सानो हरियो मैनबत्ती आकृति बनाएको छ। यसले जलविद्युत समूहमा थप सुधार आउनसक्ने संकेत गरेको छ।
सोमबार जलविद्युत समूह ३९५७ मा थियो र २९९६ मा यसले प्रतिरोध परीक्षण गरिरहेको छ।