सेयर बजारमा पछिल्लो समय उच्च सुधार देखिँदैछ। विगत तीन कारोबार दिनमा नेप्सेले करिब १३३ अंक जोडेको छ।
केही समयदेखि २९०० विन्दुमा प्रतिरोध सामना गरिरहेको नेप्सेले सो प्रतिरोध तोड्ने सम्भावना देखिएको छ। आइतबार बजार बन्द हुँदा २९३१ विन्दुमा आइपुगेको छ। यो आठ महिनायताकै उच्च विन्दुमा आइपुगेको हो।
यसअघि साउन ७ गते २९३४ मा बजार बन्द भएको थियो। आइतबार नेप्से रहेको स्थान साउन ७ यताकै उच्च हो।
बजार उच्चले बढ्दा आइतबार व्यापारमूलक बाहेक सबै समूहगत परिसूचकमा सुधार भयो।
बैंक तथा वित्तीय संस्थाहरूको सूचकमा आएको सुधारले नेप्सेलाई नयाँ उचाइ दिलाएको छ।
अहिले कुन क्षेत्रमा कस्तो संकेत देखिँदैछ त?
बैंकिङ समूहमा 'गोल्डेन क्रस–ओभर' बनेको छ। ५० दिने मुभिङ एभरेज रेखाले २ सय दिने मुभिङ एभरेज रेखालाई काटेर माथि लागेको छ।
नेप्सेमा पनि केही समयअघि गोल्डेन क्रस–ओभर देखिएकामा अहिले वाणिज्य बैंक समूहमा पनि यस्तो संकेत देखिको छ।
गोल्डेन क्रस–ओभर भएमा वाणिज्य बैंक समूह थप बढ्न सक्छ।
आइतबार वाणिज्य बैंक समूह २.४९ प्रतिशत बढेर १५६० विन्दुमा छ। अहिले यसअघिको लक्ष्य १५५७ लाई काटेको छ। एक पटक यो तहमा बैंकिङ समूहले प्रतिरोध परीक्षण गर्न भने सक्छ।
बिहीबार र आइतबार दुवै दिन लामो शरीर भएका मैनबत्ती चित्र बनेका छन्। बिहीबारको मैनबत्तीको शरीरभन्दा माथि दुरी (ग्याप) राखेर आइतबारको मैनबत्ती बनेको छ।
सोमबार यदि बैंकिङ समूह घटेर कालो मैनबत्ती बनेमा पनि अपसाइड ग्याप थ्री बुलिस वा अर्को संकेत अपसाइड टासुकी ग्याप बन्न सक्छ। यी दुवैले बैंकिङ समूह बढ्न सक्ने संकेत गर्छन्। यी दरिला संकेत भने होइनन्। तर सोमबार यो समूह थप बढेर हरियो मैनबत्ती बनेमा बजार बढ्ने दरिलो संकेत हुनेछ।
त्यस्तै, विकास बैंक समूहमा पनि हालै गोल्डेन क्रस–ओभर भएको छ। आइतबार विकास बैंक समूह २.४६ प्रतिशतले बढेर ६४६८ विन्दुमा छ।
अहिले विकास बैंक समूह यसअघिको लक्ष्य ६५३३ लाई परीक्षण गरिरहेको छ। साउन १३ गते विकास बैंक समूह ६५३३ विन्दुमा थियो। साउन १३ यता पहिलो पटक यो विन्दु नजिक विकास बैंक समूह आइपुगेको हो।
विकास बैंक समूहमा पनि बिहीबार र आइतबार दुवै दिन लामो शरीर भएका मैनबत्ती चित्र बनेका छन्। बिहीबारको मैनबत्तीको शरीरभन्दा माथि दुरी (ग्याप) राखेर आइतबारको मैनबत्ती बनेको छ।
आइतबार लघुवित्त समूह सबभन्दा धेरै ४.२१ प्रतिशतले बढेर ५२८९ विन्दुमा छ। अहिले लघुवित्त समूहले ५४४३ लक्ष्य ताकिरहेको छ।
लघुवित्त समूहमा ५० दिने मुभिङ एभरेज रेखा र २ सय दिने मुभिङ एभरेज रेखाबीच कुनै दुरी बनेको छैन। यसमा क्रसओभर हुने संकेत देखिएको छ। समूहमा पनि बिहीबार र आइतबार दुवै दिन लामो शरीर भएका मैनबत्ती चित्र बनेका छन्। बिहीबारको मैनबत्तीको शरीरभन्दा माथि दुरी (ग्याप) राखेर आइतबारको मैनबत्ती बनेको छ।
आइतबार वित्त कम्पनी समूह सबभन्दा धेरै २.१३ प्रतिशतले बढेर २६८५ विन्दुमा छ। अहिले वित्त कम्पनी समूहले २७०० को तहमा लक्ष्य ताकिरहेको छ। यो तह पार गर्न सकेमा २९ सयको लक्ष्य भेट्नेछ।
वित्त समूहमा पनि गोल्डेन क्रस–ओभर बनेको छ।
समूहमा पनि बिहीबार र आइतबार दुवै दिन लामो शरीर भएका मैनबत्ती चित्र बनेका छन्। यी दुई दिनको मैनबत्तीको शरीरबीच खासै दुरी (ग्याप) छैन। मैनबत्ती चित्रले सोमबारको कारोबार हेरेर लगानी निर्णय लिनु सही हुने संकेत गरिरहेको छ।
यो पनि पढ्नुस्ः नेप्सेमा छिटो छिटो भइरहेको छ क्रस–ओभर, के संकेत गर्छ?