अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस पाँच हजारभन्दा तल नै रहेर कारोबार भइरहेको छ।
केही महिनाअघि सुनको मूल्य प्रतिऔंस पाँच हजार पाँच सय ५८ डलर थियो।
नेपाली बजारमा पनि फागुन १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।
अहिले प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। यो भनेको मूल्य करिब १५ प्रतिशतले घटेको हो।
सामान्यतया सैन्य तनाव बढ्दा सुनको मूल्य पनि बढ्ने गर्छ।
किनकि अनिश्चितताका बेला लगानीकर्ताहरू सुरक्षित सम्पत्ति वा 'सेफ–हेभेन' मानिने सम्पत्ति तर्फ आकर्षित हुने मानिन्छ।
अहिले मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दो सैन्य तनावले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ।
स्ट्रेट अफ होर्मुजजस्तो संवेदनशील मार्गमा अवरोध आउँदा विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल सय डलरभन्दा माथि पुगेको छ।
तर, यसपटक भने सुनको मूल्य अपेक्षाअनुसार उकालो लाग्न सकेको छैन। किन त?
यसको प्रमुख कारण अमेरिकी केन्द्रीय बैंक (फेड) को मौद्रिक नीति हो। फेडले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर उच्चस्तरमै राख्ने संकेत दिइरहेको छ।
उच्च ब्याजदरको कारण लगानीकर्ताहरूका लागि बन्ड वा अन्य ब्याज दिने साधन बढी आकर्षक बनेको छ।
तर, सुनले प्रत्यक्ष प्रतिफल दिँदैन। जसले गर्दा सुन होल्ड गर्दा लागत बढाछ र यसको माग घटाउँछ।
उच्च ब्याजदरले अमेरिकी डलरलाई पनि बलियो बनाएको छ।
नेपाली बजारमा पनि डलरको भाउ २० दिनमा करिब दुई प्रतिशतले बढेर हालसम्मकै उच्च भएको छ।
बिहीबार एक डलरको लागि नेपालीहरूले एक सय ४८ रूपैयाँ ५२ पैसासम्म तिरिरहेका छन्।
फागुन १६ गते यस्तो विनिमय दर एक रूपैयाँ ४५ पैसा ८७ पैसा थियो।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य डलरमै निर्धारण हुन्छ। त्यसैले डलर बलियो हुँदा अन्य देशका लगानीकर्ताहरूका लागि सुन महँगो पर्छ।
यसले सुनको अन्तर्राष्ट्रिय मागमा कमी आउँछ र मूल्य माथि जाँदैन।
२०२६ को सुरुवातमा फेडले ब्याजदर घटाउने अपेक्षा गरिएको थियो। तर इरान युद्धसँगै तेलको मूल्य बढ्दा मुद्रास्फीति फेरि बढ्न सक्ने जोखिम देखिएको छ।
यसले गर्दा ब्याजदर लामो समयसम्म उच्च राख्न वा आवश्यक परे अझै कडाइ गर्न फेड बाध्य हुनसक्छ। यही अपेक्षाले गर्दा सुनको मूल्यमा दबाब देखिएको छ।
हुनतः तेलको मूल्य बढ्दा सुनको मूल्य थप बढ्ने सम्भावना भने छ।
किनकि सुनलाई परम्परागत रूपमा मुद्रास्फीति विरुद्धको सुरक्षा साधन मानिन्छ।
अहिले डलर बलियो भएको र अमेरिकी ब्याजदर उच्च रहेकोले सुनको मूल्यलाई सन्तुलित गरिरहेको छ।
यही कारण अहिले सुनको मूल्य स्थिरजस्तो देखिएको हो।
विश्लेषकहरूका अनुसार जबसम्म फेडले स्पष्ट रूपमा ब्याजदर कटौतीको संकेत दिँदैन, तबसम्म सुनको मूल्यमा ठूलो उछाल नआउन सक्छ।