युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।
यस अनुसार कम्पनीले २३ करोड १० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ।
बुक क्लोजको आधारमा फागुन १४ गतेसम्मका कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
यो हकप्रद सेयरमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी' प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
सेयरधनीहरूले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट र सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर 'मेरो सेयर' अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।