'क्ल्यास अफ टङ्स' नामक रोस्ट शो दर्शकमाझ आउने भएको छ।
दर्शकहरूलाई तीखो व्यंग्य र हास्यको अनौठो अनुभव दिने लक्ष्यसहित शो ल्याउन लागिएको कार्यक्रमका होस्ट विशाल गौतमले जानकारी दिए। उनका अनुसार चैतको तेस्रो सातादेखि शो प्रसारणमा आउनेछ।
शोको निर्देशक र निर्माता पनि विशाल गौतम हुन् भने बबिन कार्की सह-निर्माताका रूपमा संलग्न छन्। रजनीश अर्याल र आशिष न्यौपाने शोको लेखक रहेका छन्। उनीहरूले धारिलो सामग्रीमार्फत शोलाई अझ प्रभावशाली बनाउने विश्वास गरिएको छ। त्यस्तै, कार्यक्रमको प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी निरज दाहालले सम्हालिरहेका छन्।
प्रस्तुतकर्ता गौतमले आफ्नो प्रस्तुतिमार्फत शोमा विशेष ऊर्जा र आकर्षण थप्नेछन्। यस शोको विशेष आकर्षणका रूपमा विभिन्न क्षेत्रका चर्चित अतिथिहरू सहभागी हुनेछन्, जसलाई कार्यक्रममा उपस्थित कलाकारहरूले रोस्ट गर्नेछन्।
कार्यक्रमले नेपाली दर्शकमाझ रोस्ट शैलीको मनोरञ्जनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। शोको छायांकन यसै सातादेखि सुरू हुने जनाइएको छ।