रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १, सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार चैत २ गते राति रेनुको हत्या भएको थियो।
प्रहरीले रेनुको हत्या आरोपमा उनकै छिमेकी १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो। रेनुले गाउँमै सामान्य किराना पसल सञ्चालन गर्दै आएकी थिइन्। चैत २ गते सोही पसलको कुनामा निदाएकी रेनुको कैँची प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
लागुऔषधको नसामा लट्ठिएका ती किशोरले मध्यरातमा रेनुको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैँची प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ती किशोर लागुऔषधको प्रयोगकर्ता थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार ती किशोरले आफू लागुऔषध किन्नका लागि रकम अभाव भएकोले चोरी गर्न गएको र मृतकले देखेपछि हत्या गरेको प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्।
घटना हुँदाको रात पनि लागुऔषध (ब्राउन सुगर) मा लट्ठिएका ती किशोर चुरोट किन्न गएको र सोही बखत महिलाको हत्या गरेको हुनसक्ने प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए।
‘गाउँको पसल जुनसुकै बेला पनि बोलाएर खोल्ने चलन रहेछ। घटना भएको राति पनि किशोर गएपछि मृतक रेनुले पसल खोलेको र पसल खोलेपछि विवाद भएको देखिन्छ,’ उनले भने।
पसल खोलेपछि दुई जनाको बीचमा विवाद भएपछि मृतककै पसलमा रहेको कैँची झिकेर प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए।
यो घटनाले लागुऔषधका कारण समाज र नयाँ पुस्ता कसरी अपराधतर्फ गइरहेको छ भन्ने डरलाग्दो सत्य उजागर गरेको प्रहरी नायब उपरीक्षक श्रीवास्तले बताए।
प्रहरीले ती किशोरलाई गत शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
उनलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए