नेपाल विद्युत प्राधिकरणको सल्यान वितरण केन्द्र सदरमुकाम खलंगामा विद्युतको मिटर बक्स माग गर्दै एक जना वडाध्यक्ष धर्ना बसेको कुरा यतिखेर सामाजिक सञ्जालमा चर्चामा छ।
खलंगा बजारभन्दा झन्डै ४६ किलोमिटर दक्षिणको कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्का आइतबार कार्यालय समयपछि धर्ना बसे। मिटर बक्स माग गर्दै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खड्का धर्ना बसेको कुरा केहीबेरमै व्यापक बन्यो।
प्रमुख जिल्ला अधिकारीदेखि समन्वय समिति, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्य लगायतले विद्युत कार्यालयका प्रमुखलाई फोन गरी तत्काल मिटर बक्स उपलब्ध गराउन ताकेता गरे। त्यसपछि विद्युतका कर्मचारीले कार्यालय गएर राति १० बजेतिर वडाध्यक्षलाई तीन थान मिटर बक्स उपलब्ध गराएपछि समस्या समाधान भयो।
यो विषयमा हामीले वडाध्यक्ष खड्का र विद्युत कार्यालयका प्रमुख नरेशदत्त रावल लगायतसँग कुरा गरेका छौं।
कपुरकोट–३ का तीन जना उपभोक्ताले निवेदनमार्फत घरमा जडान गर्नका लागि मिटर बक्सका लागि वडा कार्यालयमा आवेदन दिएका थिए।
निवेदक सामान्य घर परिवारका थिए। त्यसैले उनीहरूको खर्च नहोस् र अनावश्यक दुःख भोग्नु नपरोस् भनेर वडाध्यक्ष विद्युत कार्यालय खलंगा पुगे।मिटर बक्सका लागि सबै प्रक्रिया पूरा गरे। त्यसपछि उनी कार्यालयको ९ नम्बर कोठामा पुगे। जहाँ २ जना कर्मचारी बसिरहेका थिए। त्यो कोठामा अन्य २ जना स्थानीय उपभोक्ता पनि मिटर बक्सका लागि आग्रह गरिरहेका थिए।
तर कर्मचारीले उनीहरूलाई कुनै पनि हालतमा सोही दिन मिटर बक्स दिन सम्भव छैन भन्दै फिर्ता पठाइदिए।
वडाध्यक्ष खड्काले लगेको निवेदनमा त्यहाँ कार्यरत कर्मचारीले तोक लगाइदिएनन्। बरू उल्टै उनले पहिलेकै कोठामा गई कर्मचारीलाई भेट्न र उनीहरूले नै यो प्रक्रिया मिलाइदिने भन्दै फर्काइदिए। आफूलाई कार्यालय प्रमुख रावलले पठाएको भन्दै फाइलहरू वडाध्यक्षले पुनः ती कर्मचारीका सामु राखे।
ती कर्मचारीहरू पुनः कार्यालय प्रमुख रावलकै कोठामा केहीबेरमै फर्किए। उनीहरूका बीचमा आपसमा सल्लाह र केही कुरा भइसकेपछि मिटर बक्स पाइने आश्वासन वडाध्यक्ष खड्काले पाए। तर, उनलाई केही कर्मचारी फिल्डमा गएको हुँदा कुर्न भनियो।
त्यो बीचमा वडाध्यक्ष खड्कासँग एक जना कर्मचारीले एक जना उपभोक्ताको फोन नम्बर सोधेका थिए। त्यतिखेर उनलाई लागेछ– अब त मिटर बक्स पाइने भयो। तर, काम भएन। बरू कम्प्युटरले काम गरेन भनियो।
साढे ३ बजेतिर कार्यालय प्रमुख रावललाई वडाध्यक्ष खड्काले देखेनन्। वडाध्यक्ष खड्काले फोन गर्दा कार्यालय प्रमुखले बाहिर रहेको बताए। वडाध्यक्ष खड्काले आफू कार्यालयमै रहेको र मिटर बक्स नलगेर नजाने अडान दोहोर्याए। वडाध्यक्षको फोनपछि केहीबेरमा कार्यालय प्रमुख कार्यालयमा आए। कुर्न भनिएको हुँदा वडाध्यक्ष खड्काले कार्यालय समय बेलुकी ५ बजेसम्म कुरेर बसे।
कार्यालय समय सकिँदै गर्दा सबै कर्मचारीको एक स्वर भयो। कुनैपनि हालतमा एकैदिनमा मिटर बक्स पाउन सम्भव छैन र निवेदन दिएको तीन दिनपछि मात्रै मिटर बक्स पाइन्छ भन्दै कर्मचारी झर्किए।
वडाध्यक्ष खड्काको झोला कर्मचारीको कोठाभित्रै थियो। त्यो बाहिर निकालेर कार्यालयमा ताला ठोके। थप केही नभनी कर्मचारी घरतर्फ लागे।
कार्यालय प्रमुख रावल लगायतका कर्मचारी सबै घरतर्फ लागे पनि वडाध्यक्ष खड्का भने सोही कार्यालय प्राङ्गणको भुइँमै बसे। त्यो बीचमा उनले नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावत, कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारी, नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्ल लगायत सामाजिक अभियन्ता युवराज खड्का लगायतलाई कर्मचारीले आफूमाथि गरेको व्यवहारबारे अवगत गराउँदै त्यसको विरोधमा आफू धर्नामा बस्न थालेको अवगत गराए।
त्यसपछि भने प्रमुख जिल्ला अधिकारी लगायत आलोपालो गरी सबै जनप्रतिनिधि र सामाजिक अगुवाहरूको समेत फोन आउन थाल्यो। फोन गर्ने अधिकाशले वडाध्यक्षलाई सम्झाउने प्रयत्न गरे। मिटर बक्स दिन्छु भनेका छन् तपाईं अन्त कतै सुरक्षित ठाउँमा बसे हुन्छ भने। तर, वडाध्यक्ष खड्काले कसैको भनाइ मानेनन्।
यतिखेरसम्म वडाध्यक्ष धर्नामा बसेको स्थानमा केही सञ्चारकर्मी पुगिसकेका थिए। वडाध्यक्ष धर्नामा बसेको चर्चा सर्वत्र फैलियो। त्यहीबीच राति १० बजेतिर विद्युत प्राधिकरणका कार्यालय प्रमुख नरेशदत्त रावल सहित केही कर्मचारी गाडी लिएर कार्यालय पुगे। उनीहरूले वडाध्यक्ष खड्कालाई आफूहरू फिल्डबाट भर्खरै आएको भन्ने कुरा गरे। कर्मचारीहरूले प्रजिअ र प्रहरीलाई बोलाउने कुरा गरे। वडाध्यक्ष खड्का आफ्नो अडानदेखि टसमस भएनन्।
अन्त्यमा कार्यालय प्रमुख रावलले आफूहरूले काम गर्दा ढिला भएको जबाफ दिए।
उनले भनेका थिए, ‘आजै निवेदन दिएको तपाईंले प्रक्रियाले आजै मिटर बक्स पाउने अवस्थै होइन।’
वडाध्यक्ष खड्काले पनि तत्कालै जबाफ फर्काए, ‘म एउटा वडाध्यक्षलाई तपाईंहरूले यस्तो व्यवहार गर्नुभयो भने एउटा सामान्य जनतालाई तपाईंहरूले कस्तो व्यवहार गर्नु हुँदो हो। नियम र प्रक्रिया जे सुकै होस्– टाढा–टाढाबाट आउने जनताले एकदिनमै मिटर बक्स पाउनुपर्छ भन्ने मेरो माग हो। दुई तीन लाग्ने प्रक्रिया छोट्याएर एक दिनमै मिटर बक्स उपलब्ध गराउने विधि बनाउनु होस्।’