अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ।
इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले जनाएको छ।
ह्वाइट हाउसले उक्त प्रस्तावलाई कांग्रेसमा पठाउने तयारी गरेको छ।
पेन्टागनले माग गरेको रकम हालसम्म सैन्य कारबाहीमा भएको खर्चभन्दा धेरै ठूलो रहेको बताइएको छ।
अमेरिका र इसराइल मिलेर गत फेब्रुअरी २८ यता इरानका विभिन्न क्षेत्रमा आक्रमण गर्दा प्रयोग भएका हतियार र सैन्य सामग्रीको पुनः उत्पादन र मर्मतका लागि सो बराबरको बजेट आवश्यक परेको पेन्टागनले जनाएको छ।
यद्यपि ह्वाइट हाउसले कांग्रेसमा बजेट प्रस्ताव पठाउँदा पेन्टागनले भने अनुसारकै परिमाणमा पठाउँछ कि पठाउँदैन भन्ने निश्चित हुन बाँकी नै रहेको वाशिङ्टन पोस्टले जनाएको छ।
पेन्टागनले प्रस्ताव गरेअनुसारकै बजेट कांग्रेसबाट स्वीकृत हुने सम्भावना न्यून रहेको एक अधिकारीले बताएका छन् ।
अमेरिकाले महँगा र ठूला हतियारहरू प्रयोग गर्दा इरान युद्धमा ठूलो खर्च भएको अनुमान छ। तर यकिन विवरण भने सार्वजनिक भएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिँदा विदेशमा अमेरिकी सैन्य संलग्नता घटाएर ठूलो रकम जोगाउने घोषणा गरेका थिए।
कार्यान्वयन तहमा उनले बोलेको भन्दा फरक देखिएको छ। यसअघि रूससँगको युद्धमा युक्रेनलाई सहायता गर्न कांग्रेसले झन्डै १८८ अर्ब डलर स्वीकृत गरिसकेको छ। इरान युद्ध चर्किँदै जाँदा रक्षा खर्च अझै बढ्दै गएको छ।
पेन्टागनमा यो प्रक्रिया उपरक्षा सचिव स्टेभेन फिनबर्गको नेतृत्वमा अघि बढाइएको छ। उनी लामो समयदेखि अमेरिकी रक्षा उद्योग र हतियार उत्पादन बढाउने विषयमा काम गर्दै आएका छन्। युद्धका कारण विशेष गरी सटीक हतियारको भण्डार तीव्र रूपमा घटेको बताइएको छ।
अमेरिकी संसदमा भने यो प्रस्ताव पारित गर्न सजिलो देखिँदैन।
डेमोक्र्याट नेताहरूले युद्धप्रति आलोचना गरिरहेका छन् भने रिपब्लिकनहरूले समर्थन जनाए पनि स्पष्ट रणनीति सार्वजनिक गरेका छैनन्।
अमेरिकी सिनेटमा ६० मत आवश्यक पर्ने भएकाले यो प्रस्ताव पास गर्न चुनौती हुने देखिन्छ।
सिनेट गुप्तचर समितिका अध्यक्ष टम कटनले अन्तिम बजेट प्याकेजमा गुप्तचर निकायका लागि थप रकम पनि समावेश गर्नुपर्ने बताएका छन्।
विशेषज्ञहरूका अनुसार यो बजेट प्रस्तावले युद्धप्रति अमेरिकी जनताको समर्थन कत्तिको छ भन्ने परीक्षण गर्नेछ।