नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामाबारे पार्टीको केन्द्रीय समितिमा छलफल हुने भएको छ।
सभापति लामिछानेले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका थिए। चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै उनले राजीनामा गरेका हुन्।
उनले बुझाएको राजीनामा पत्र सार्वजनिक भइसकेको छैन।
कांग्रेसका एक पदाधिकारीका अनुसार थापाको राजीनामा स्वीकृत गर्ने नगर्नेबारे केन्द्रीय समितिमा छलफल हुनेछ।
केन्द्रीय समिति बैठक शुक्रबार बोलाइएको छ।
'सभापतिको राजीनामाबारे त्यही बैठकमा छलफल र निर्णय हुन्छ,' ती पदाधिकारीले भने।
केन्द्रीय समितिले निर्वाचनको समीक्षा पनि गर्नेछ।
सभापति थापा आफै फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा सर्लाही-४ बाट पराजित भएका थिए। सभापति थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए।
विशेष महाधिवेशन गरेको छोटो समयमा नै कांग्रेस चुनावमा भाग लिएको थियो।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन। विशेष महाधिवेशनलाई लिएर देउवा पक्ष सर्वोच्च अदालत गएको छ र मुद्दा विचाराधिन छ।
चुनावमा अधिकांश उम्मेदवारहरू पराजित भएपछि सभापति थापाको आलोचना हुँदै राजीनामा माग भइरहेको थियो।