इरानको ड्रोन आक्रमणबाट जोगाउन मध्यपूर्वमा आफ्ना दुई सय बढी सैन्य विज्ञ खटिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
इरानको शाहिद ड्रोनबाट जोगाउन आफ्ना २०१ सैन्य विज्ञ खटिएको र थप ३४ जना खटिन तयार रहेको जेलेन्स्कीले जानकारी दिएको द गार्डियनले लेखेको छ।
जोर्डनस्थित अमेरिकी सैन्य शिविरको सुरक्षाका लागि युक्रेनले आक्रमण रोक्ने 'इन्टरसेप्टर' ड्रोन र विशेषज्ञहरूको टोली पठाएको गत हप्ता पनि जेलेन्स्कीले बताएका थिए।
अमेरिकाले सहयोगका लागि अनुरोध गरेको र युक्रेनी टोली भोलिपल्टै प्रस्थान गरेको जेलेन्स्कीले खुलाएको भनेर द न्यूयोर्क टाइम्सले जनाएको थियो।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेपछि जबाफमा इरानले इसराइल र खाडी राष्ट्रहरूमा प्रहार गरिरहेको छ। इरानको मिसाइललाई अमेरिकी र इसराइली एयर डिफेन्सले खसालिरहे पनि इरानी ड्रोन आक्रमण रोक्न मुश्किल भइरहेको छ।
५० हजार डलरभन्दा सस्ता इरानी ड्रोन खसाल्न अमेरिका र इसराइलले १० औं लाख डलर पर्ने खर्चिला मिसाइल ‘इन्टरसेप्टर’ को प्रयोग गरिरहेका छन्। मिसाइल आक्रमण रोक्न प्रयोग हुने सीमित र महंगा ‘इन्टरसेप्टर’ सस्ता ड्रोन खसाल्न प्रयोग गर्नुपरेपछि अमेरिकालाई अप्ठ्यारो परेको छ।
त्यसैले अमेरिका मात्रै नभएर खाडी राष्ट्रहरूले पनि युक्रेनसँग सहयोग मागेका छन्।
युक्रेनसँगको युद्धमा सहयोग गर्न इरानले शाहिद ड्रोन दिएको थियो। अहिले रूस आफैले ती ड्रोन उत्पादन गरेर युक्रेनमाथि प्रयोग गरिरहेको छ। रूसको ड्रोन आक्रमण रोक्न युक्रेनले आफै रक्षात्मक ‘इन्टरसेप्टर’ ड्रोन बनाएको छ। ती ‘इन्टरसेप्टर’ ड्रोनले रूसी ड्रोनमा ठक्कर दिएर तीनलाई नष्ट पार्छन्।
इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडामाथि गरेको ड्रोन आक्रमणबाट जोगाउन अहिले युक्रेनले अमेरिकालाई सहयोग गरेको हो।
अमेरिकालाई अहिले सहयोग गरेको बदलामा रूसलाई फाइदा हुने गरी शान्ति सम्झौता गर्न दबाब दिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफूप्रति नरम हुने युक्रेनले आशा गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)