बेलायती सेनामा रहेका खोटाङ केपिलासगढी २ का डाकमणि राईकी पत्नी मनलछी राईको एक महिनाअघि बेलायतमै निधन भएको थियो।
नेपालमै ल्याएर अन्तिम संस्कार गर्ने योजनाअनुसार शव काठमाडौं ल्याइएको थियो।
बुधबार बिहान काठमाडौंबाट शव हेलिकप्टरमा गाउँ लैजाने योजना बनेको थियो। तर ठाउँ अभाव भएपछि परिवारका ४ जना र एक जना पास्टर गरी ५ जना मात्रै हेलिकप्टरमा अट्ने भए।
मनलछीको शव शव वाहनमा राखेर डाकमणिसहित परिवारका अरू सदस्य काठमाडौंबाट एयर डाइनेस्टीको हेलिकप्टरमा खोटाङका लागि उडे।
एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टरमा मृतक मनलछीका पति डाकमणि, छोरा बालकुमार, छोरी लक्ष्मी, आफन्त समला राई र पास्टर काजीबहादुर राई सवार थिए।
पाइलट सविन थापासहित ६ जना सवार हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा पर्यो।
हेलिकप्टर अवतरणका लागि अंग्रेजी अक्षरको ‘एच’ लेखेर ठाउँ पनि ठीक पारिएको थियो। जसै पाइलट सविन थापाले अवतरण गराए, हेलिकप्टर निर्धारित ठाउँभन्दा केही परै थियो। अघि बढाउन खोज्दा अनियन्त्रित हुँदै भित्तामा बजारिँदै पल्टियो।
खोटाङमा भएको हेलिकप्टर दुर्घटनाको भिडिओ अहिले सामाजिक सन्जालमा ‘भाइरल’ बनेको छ। भिडिओ हेरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेत आगलागी नभएर ठूलो मानवीय क्षति टरेको बताउँछन्।
‘दुर्घटनाको भिडिओ हेर्दा आगलागीको सम्भावना उच्च देखिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘फ्युलसहितको हेलिकप्टर आगलागीबाट जोगिनु नै ठूलो मानवीय क्षतिबाट जोगिनु हो।’
हेलिकप्टर दुर्घटनामा परेर ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।
खोटाङ प्रहरीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार ‘हेलिकप्टर अवतरणको क्रममा असन्तुलन भई जमीनमा पल्टिएको’ उल्लेख गरेको छ।
खोटाङ प्रहरीका डिएसपी प्रकाश बुढाथोकीले ‘हावाको वेगले हेलिकप्टरले सन्तुलन गुमाएको हुन सक्ने’ बताएका छन्।
‘एक जना घाइते हुनुभयो, अरूको अवस्था सामान्य छ,’ बुढाथोकीले भने, ‘तर पाइलट थापा असामान्य अवस्थामा हुनुहुन्थ्यो। उहाँसँग कुरा हुनै पाएन। प्राविधिकहरूले असन्तुलनका कारण भनेका छन्।’
उनले पनि हेलिकप्टरमा आगलागी हुन नपाउँदा ठूलो मानवीय क्षति टरेको बताएका छन्।
‘अहिले घटनास्थलमा हेलिकप्टर रुँघेर प्रहरीको टोली खटिएको छ। घाइते र पाइलटलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइसकिएको छ,’ उनले भने, ‘अहिलेसम्म हेलिकप्टरमा आगलागी भएको छैन। आगलागी नहुँदा ठूलो मानवीय क्षति हुन पाएन। घाइतेको अवस्था पनि सामान्य छ।’