‘हेल्लो! अनिता! सुन त! नारी दिवसको दिन प्रगति राई म्यामले एउटा कार्यक्रम राख्नुभएको छ। मूलबाटो प्रतिष्ठाको आयोजनामा। यसो समय मिलाउन हुँदैन?’
भोट खसालेर आनन्दित भएकी म हौसिएर फैसला गरी त हालेँ, ‘ए! लु गजब भएछ। हुन्छ दिदी! म पनि जाने।’
मेरो उत्तर सुनेर राधिका कल्पित दिदीको मुहारमा धपक्क विजय जुलुस उर्लियो। भनिन्छ ‘खुसीमा वचन नदिनू’ तर आनन्दमा नियमको रेड लाइट कसले देखोस्। चारैतिर हरियो बत्ती बल्यो।
नारी दिवसको उत्सव छ। निकै हल्लीखल्ली छ सामाजिक संजालमा। मनभरि उत्साह, उमङ्ग र स्वतन्त्रताको आकाश सखारै खुलेको छ। तर नारी दिवसको नाममा छोरीहरूको दिवाली निकाल्ने हेतु छैन। बिदा छैन छोरीका बा र छोरीहरूको। अधिकार, अन्धता र विमूढता फरक फरक कुरा हुन् बुझेकी छु।
अधिकार खोज्ने नाममा कर्तव्यको चिता जलाएर आगो ताप्न मन छैन। मजाकको विषय पनि होइन नारी अधिकारका कुरा। नारी संवेदनाप्रतिको कटाक्ष स्वीकार पनि छैन। अनावश्यक कुरा खोजेर झगडा गर्ने नियत किञ्चित छैन अनि एकाविहानै भान्सामा दुई वटा कुकरमा कर्तव्यको सिठ्ठी बजाउन थाल्छु। घरको कर्म फत्ते गरेर गोकर्णलाई गन्तव्य राखेर हिँडेकी छु गुर्जुधाराबाट।
चाबहिल जाऊँ कि सातदोबाटो! मन दोबाटोमा पछारिन्छ। भारती दिदी सातदोबाट चढ्ने यता जाँदा एक्लै पर्ने। हिजो दिदीको छातीमा अतीतको आँधी उठेर लछारपछार पारेको चाल पाएकी थिएँ। दिदीको उज्यालो अनुहार हेर्न हतार भएको थियो। पीडाले नीलो भएको अनुहार दिदीलाई पटक्कै खुल्दैन। कति पनि राम्रो लाग्दैन चिन्ताले चिथोरिएको उहाँको अनुहार। दिदीको मुहारमा उत्साहको गुलाफ फुल्यो कि फुलेन भन्ने कुराले मलाई विचलित पार्दै लग्यो।
अनि त नैकाप पुग्दानपुग्दै मन सातदोबाटोतिर हानियो। ओठहरू अदृश्य रूपमा चलमलाउँन थाले ‘कविता सुनाउनु पर्ने छ के सुनाउने होला। ‘नयाँ कविता त लेखेकै छैन’। कलंकीबाट महानगर यातायात चढेपछि मस्तिष्कमा एउटा विचार फुत्त आयो। सिट खाली छ बसी हालेँ। अनि मोबाइलको नोटबुकमा कविता कोर्न आरम्भ गरेँ ...
शीर्षक राखेँ ‘अहंकारको साँढे’
अहंकारको साँढे गर्जिँदै थियो चोक-चोकमा
के हो नारीवाद ? को हुन् नारीवादी ?
खल्तीबाट झिकेर अदालत आफै बग्दै थियो
बर्बाद पार्ने भए यी कुजातहरूले,
खतम पार्ने भए परिवार,
धस्त पार्ने भए परम्परा
मास्ने भए सम्बन्ध,
हीराको हार लगाएर
सुनको शोकेशमा आनन्दले बसेका जातहरूले
फलामको पिँजडा ठानिदिएपछि
बहुलाएका हुन् यी कुजातहरू ...
थाप्लोमा हात राखेर अझ कन्दै थियो
आखिर को हुन् त यी जात ?
सुकिलो पोषाकमा अर्को
भद्र बोल्दै थियो तिनै हुन् क्या ...
जसलाई हामीले उचित न्याय गरेका थियौँ
देवी बनाएर मन्दिरमा सजाएका थियौ
चितामा जिउँदै जलाएर, पवित्र बनाएर
सजिलै स्वर्ग पठाएका थियौँ...
आज निर्लज्ज भएर कुर्लिँदै छन्
अस्तित्व आलाप ... ।
अचम्म कविता त निमेषभरमा पूर्ण भयो र म दङ्गिएँ। बाटो कटेको पनि हेक्का भएन। पुगित हालेँ मिलिक्कै। गाडीबाट ओर्लने बित्तिकै सातदोबाटो चोकमा दिदीबहिनीको जम्काभेट भयो। हार्दिकताको न्यानो अङ्गालोमा बेरिँदै केहीबेर सडक छेउलाई नै चौतारो बनायौँ। दुःख सुखको हाजमोला चपाउँदै हाँस्न थाल्यौँ।
केहीबेरमा काव्य यात्रा लेखेको माइक्रोबस आँखै अगाडि आइपुग्यो। खुसीका कदम चाल्दै उक्लिन्छौँ। गाडीभित्र परिचित र अपरिचित अनुहारहरू मस्तै छन्। प्रेम र हार्दिकतापूर्ण अभिवादनले निकटता मात्र कहाँ देख्यो र! मिसियो मुस्कानको आकर्षण एकअर्कामा। हामी सबै एक भयौँ काव्य यात्राका सहयात्री।
चाबहिल हुँदै गोकर्णतिर लाग्यौँ, काठमाडौँ ट्राउट वाइल्ड भ्यू रिसोर्टतिर। तर चालक भाइ अनविज्ञ रहेछन् सडकको लहरोप्रति। नशा जसरी बटारिका बाटाहरूले दिग्भ्रमित अवश्य पारेको छ। गुगल म्याप हेरेर हिँड्न भुलेछन् कि के हो! धुम्मिएको गोकर्णेश्वरका सडक सडक डुल्दैछौँ।
मौसमले अचानक रूप फेरेको छ। चुनावको नतिजा आउने क्रमसँगै उत्साहजनक छ नेपालीको मन। ऊर्जाशील नेतृत्वको आशमा रमाएको मेरो मन पनि दिक्किएको छ अहिले बिरक्तलाग्दो मौसममा।
केहीदिन अघि देखिएको नीलो आकाशलाई घुम्म परेको अँध्यारो खोलले ढाकेको छ। लाग्छ प्रकृति गम्भीर भएर गम्दै छिन् समय सुत्र। बर्सिन नसकेको पानी पोखरी भएर आकाशमा जमेको लाग्छ। पानीको सतहमा प्लाष्टिकको बाक्लो लेउ लागेर पानीलाई नबग्ने गरी ढाकेको त छैन!

प्रार्थनामा बरबराउँछन् ओठहरू ‘हे ईश्वर! फोहोर मैला हटाउने गरी मज्जाले पानी परोस् न! यस्तो मौसममा शरीर पनि जकडिने रहेछ। मन पनि प्रशन्न हुनसकेको छैन।’
जोरपाटीको जोर-पाटी छिचोर गाडी सोझै कता हो कता सडकको नदीमा निकै तल बगिसकेछ। सडक छेउका जानकारलाई सोधपुछ गरे पछि गाडी पुनः फर्कियो जोरपाटीतिरै। गोकर्णेश्वरतिर लाग्दा छिटाछिटी पानी पनि खस्न थाल्यो। मनको इच्छा पुग्ला जस्तो छ। घनघोर पानी पर्ला-पर्ला जस्तो आकाश छ। पानी पर्ने आशमा एउटा मन खुसी छ अर्को मन शङ्काको बाँसुरी बजाउँदै भन्छ ‘आजको पिकनिक झुर हुने त होइन!’ माइक्रो घरी यता घरी उता गर्दै अन्ततः गोकर्णश्वर मन्दिरबाट सोझिन्छ सही गन्तव्यतिर।
मार्गदर्शक कति आवश्यक छ भन्ने आत्मवोधले मलाई उज्यालो पारेको छ। जीवन यात्रामा पनि हामी बारम्बार भड्किन्छौँ। हो गलत मार्ग दृश्यमान नहुनसक्छ। सही बाटो पनि अदृश्य हुनसक्छ तर शान्त भएर हामीले मस्तिष्कभित्रको गुगल म्यापलाई हेर्ने अभ्यास गर्यौं भने पक्कै पनि भड्किनु पर्ने थिएन होला।
सबैको हात-हातमा स्मार्ट फोन त छ तर सही समयमा प्रयोग गर्न सकेनौँ। भिजिसकेका थियौँ अलमलको वर्षामा। मेरा मार्गदर्शक बारम्बार भन्नुहुन्छ ‘साथमा छाता हुनु वर्षा नै नहुनु कदापि होइन। वर्षा त हुन्छ हुन्छ। यो प्राकृतिक नियम हो तर साथमा भएको छाता समयमा खोलियो भने भिज्नबाट जोगिन सकिन्छ ...।‘ ओठहरू गुरूप्रति प्रार्थनीय भइनै रहे।
साँच्चै ज्ञान मात्र हुनु त्यति ठूलो कुरा हैन रहेछ ज्ञानको प्रयोग उचित समयमा भयो भएन पो महत्वपूर्ण रहेछ। प्रविधि प्रयोगमा नै सुन्दर हुनेरहेछ। ज्ञान पोको पारेर हिँड्ने बस्तु किमार्थ हैन रहेछ। समयको सुत्रलाई सम्झिन नितान्त आवश्यक रहेछ। सही समयमा कुनै पनि प्रविधि र ज्ञान प्रयोग गर्नु लाभदायक हुनेरहेछ।
हाम्रो जीवनमा पनि त उत्तम बाटाहरू हामीसँगै जोडिएका हुन्छन् तर कहिलेकाहीँ निकटता पनि किन विकट बनिदिन्छ। देख्दैनौँ आँखै अगाडिको स्वर्ग र भौँतारिन्छौ बाहिर बाहिरै। अर्को मन बुरूक्क गरेर ऊफ्रिँदै बोल्छ, ‘कहिलेकाहीँ त आफैले निर्माण गर्नुपर्ने हुनसक्छ है आफ्नो बाटो। अरूले देखाइदिएको बाटो हामीलाई प्रितिकर नलाग्न पनि त सक्छ। अरूले बताइदिएको बाटो उसको लागि सही भए पनि तेरो लागि नहुनसक्छ। त्यसैले हामी स्वयं आफ्नो मार्गदर्शक पनि बन्नुपर्ने हुन्छ। हामीले हरेक दिन आफैलाई प्रश्नको औँला ठड्याउनुपर्छ। आफू हिँडेको बाटोमा उभिएर नित्य समीक्षा गर्नुपर्छ...।’
चालककै भरमा हिँडेका छौँ। चालकलाई गुरू पनि त भनिन्छ। गुरू शव्दको अर्थ र कर्तव्यलाई केही मात्रामा जानी नजानी चालकहरूले पूरा पनि गर्दै आएका छन् जस्तो लाग्छ। गन्तव्यमा पुर्याएकै छन्। जीवन जस्तो अमूल्य सम्पत्तस हामी कति सजिलै चालककै हातमा सुम्पिएर हिँड्छौं। विश्वास कति सुन्दर संवेदना छ हामीसँग। विश्वासको सगरमाथा लिएर हामी पनि हिँडेका छौं आज।
‘लौ आइपुग्यौँ त हामी। प्रवेश द्वारतिर देखाउँदै प्रभा म्याम भन्दैहुनुहुन्छ। हामी पनि चिहाउन थाल्यौँ सिसाको झ्यालबाट। सौन्दर्यको सौगात लिएर प्रकृतिले हार्दिकता प्रकट गर्दैछ। गाडीबाट उत्साहका पाइला ओराल्दै समस्वरमा गीत गाउँदै हामी रिसोटभित्र प्रवेश गर्छौं। साँच्चै सुन्दर ठाउँ रहेछ। हरियो जङ्गलले हामीलाई देख्ने बित्तिकै हाँसेर शीतल स्वागत गर्दैछ। चिटिक्क परेका साना साना घरले रूमानी रङ पोतेर हामीलाई हेर्दै मुस्कुराउन लाग्यो।
आडैमा देखियो पौडी खेल्ने नीलो पोखरी। पोखरीले त मलाई कानैमा आएर भन्यो, ‘अनिता आज पौडी खेल्दिनस्? तँलाई त पौडी खेल्न खुब रमाइलो लाग्छ त! मैले देखेको छु तँलाई कमला खोलामा कयौँ पटक पौडिएको। खोलाले बगाउँदा पनि कतिचोटि पौडिएर निस्किएको। आज पनि खेल यहाँ तँ बग्दिनस्।’
स्वीमिङ पुल मसँग संवादी हुँदै थियो धुम्मिएको आकाश उपहास गरेर हाँस्न थाल्यो, ‘आज पौडी खेल्न त फौलादी मुटु नै हुनुपर्छ। यस्ता मान्छेले सके पो! खेल्छे। चिसो खप्न सक्छेस् भने पस् पानीमा नत्र त आँखाले खेले हुन्छ अतीतको पौडी।’
मन हाँस्छ मनको चौतारीमा टुसुक्क बसेर। म साँच्चै पुग्छु कमला खोलामा।
भेलमा पनि हेलिने त्यो गोर्खाली मनले आज उमेरको खोल ओडेको छ। निसङ्कोच दहमा फालकुद्ने गोडाहरू दायाँ बायाँ टेक्क जमिन खोज्दैछ। आँखा चिम्म गरेर झ्वाम्म पानीमा कुद्ने देह शनैः शनैः शिथिल हुँदैछ। केही नसोची ह्वात्तै निर्णय गर्ने मस्तिष्क चिन्तनशीत हुँदै छ। तथापि आकाशलाई साक्षी राखेर भन्छु ‘पख न म वैशाखतिर आउँछु भिमानकै आदिम ऊर्जा बोकेर अनि थाहा पाउलास् मेरो शक्ति र हिम्मत।
‘ए अनिता के टोलाएर बसेको फोटोमा छुटिएला है।’ भारती दिदीले बोलाउँदा पो म भिमानबाट फर्किएँ।
आँखा अघाएका छैनन् प्राकृतिक सौन्दर्यपानमा। फोटोको त कुरा नगर्दा नै होला जस्तो लाग्यो। कति हो कति रिल सक्किने भए पो पिर।
खाजा तयार भएको सूचनासँगै हामी रिसोर्ट परिस नियाल्दै डाइनिङ हलतिर लाग्छौँ। काइदाको खाजाले शक्तिशाली भएर केहीबेर नाचगानमा बेधडक हराउँछौँ जसरी बाल्यकालमा हराउँथ्यौँ बेपर्वाह। यसरी नाची, यसरी पो हाँसी भनेर छिद्र मूल्याङ्कन गर्ने आँखा थिएनन् वरपर। आमाले यसो गर्नुहुन्छ? त्यसो गर्नु हुँदैन भन्ने आवाज पनि कतै थिएन।
निर्भीक भएर निर्बन्द उड्दै गरेका आमाभित्रका युवतीहरू जुर्मुराउँदै प्रकट भए, जसरी महादेवले आफ्नो जटाबाट महाकाली, वीरभद्र र शिवसेना प्रकट गरेका थिए। युवतीहरू छमछम नाच्न थाले । हाँस्न थाले बिर्सिएर जिम्मेवारीको असमेल भारी।
नारीहरूलाई नाच्न कुनै नशा नै नचाहिने रहेछ। हुन त घरमा पनि नित्य नाचेकै हुन्छन् यो काम र त्यो काम भनेर। नशाबिनाको नृत्यमा माहिर पो रहेछन् नारीहरू। कत्रो शक्ति आफैभित्र। कत्रो ऊर्जा। आफैप्रतिको विश्वास प्रकट हुँदै गएको देख्छु दिदीबहिनीहरूको नुरानी मुहारमा।
नाच्दै गर्दा सम्झिन्छु ‘समय त कहाँ सकिँदो रहेछ र! सक्किने त हामी मात्र रहेछौँ। उमेर त अङ्कको भारी मात्र रहेछ। अतीत सक्किएकै रहेनछ। अतीतको समय पूरा भएर हामीबाट हराएकै रहेनछ। अतीतको मन वर्तमानमा टुप्लुकिन्छ। कहाँ विलुप्त भएको रहेछ र ! समय त चक्र मात्र रहेछ। हामीभित्रै हरेक काल मडारिएको हुनेरहेछ। नत्र अतीत किन बारम्बार सजीव भएर उठ्छ त!
अनुशासित नृत्यमा निमग्न आमा युवतीहरूको ऊर्जा थामिनसक्नु छ। फोटो, रिल टिकटकमा हराएका छौँ। रमाएका छौँ। प्रकृतिको रुमानी परिवेशमा मख्खिएका छौँ। ठूलो क्षेत्रफलमा फैलिएको रिसोटमा ट्राउट माछाहरू सलसल बग्दै छन्। कागतीको बोट पर-पर देखिन्छ। साग बारीले पनि हार्दिकता प्रकट गर्दैछ। ड्रागन फ्रुटका लहराहरू पनि चिहाउँदैछन् टायरको माला घाँटीमा बेरेर। हरियाली ओढेर सजिएको रिसोर्ट जताबाट हेरे पनि आनन्दित हुने स्वर्गतुल्य छ। पौरखी हातहरूलाई सलाम गर्न चुक्दैनन् मेरा हातहरू। दीगोचिन्तन, लगन र आँट आवश्यक छ यो कर्मभूमिमा। भनिन्छ कर्म गर्नेलाई पैसा त हावामा नै फालाफाल छ तर सर्त छ कडा मेहनत र अटल विश्वास त चाहिन्छ-चाहिन्छ।
सहभागीहरूको छोटो परिचयसँगै कविता वाचनको कार्यक्रम आरम्भ हुँदैछ। नारी हृदयबाट प्रकटित भाव कविता बनेर गुञ्जिएको छ गोकर्णको जमिन र जङ्गल वरपर। नारीहरू आ-आफ्नो अनुभव,संघर्ष, मेहनत, उपलब्धि, त्याग र सफलताको कथाहरू सुनाउँदै गर्दा विश्वासको हिमाल सबैको मुखमा उदाएको देखिन्छ। जीवन सरल रेखामा बग्यो भने त जीवनको स्वाद नै बेस्वाद हुन्छ कि क्या हो भन्ने भावनाले मलाई जुरूक्क उचाल्छ।
‘अब खाना तयार भयो है। नाचगान स्थगित गरेर पहिले तातो भात खानुपर्छ।’ प्रगति म्यामको कुरामा सबै सहमत भएर हात धुन थाल्यो नजिकैको धारामा। साँच्चै सुस्वादु भोजनमा रमाउँदै रिसोट भोज खायौँ बन भोज सम्झेर।
खाना खाएर पुनः ऊर्जाशील हुँदै चाहार्न थाल्यौँ रिसोर्टको कुनाकाप्चा। हाम्रो हाँसो निर्बन्ध भएकाले सायद प्रेममा डुब्न आएका जोडीहरूलाई बाधा पर्यो कि भन्दै गम्न पनि पछि परेका छैनौँ तर पुनः पुनः भुल्ने बानी परेको छ के गर्नु न हाँसो कम भयो न आवाज, दुवै तीव्र भएर प्रेममा निमग्न जोडीहरूको शान्त तलाउ चलाउन पुग्यो।
नृत्यमा निकैबेर हराएका गोडाहरू थाकेछन् अनि नजिकैको पिङमा बसेर झुल्न थालेकी छु। साथमा नयाँ साथीहरू हुनुहुन्छ। गफगाफको चुम्बकले तान्दै छ र हामी नजिक हुँदै छौँ।
मन काव्यको बासनामा हराउँदै छ। कविताभित्र नारीको मन, मस्तिष्क वर्तमान समय नै मुखरित भएको मूल्याङ्कन गरेँ। वंशमा छोरीको अधिकार साँच्चै मननयोग्य लाग्यो। छोरीलाई सम्पति कति आवश्यक रहेछ भन्ने ज्ञान मैले पनि बुझ्दै आएकी छु। आर्थिक रूपमा सक्षम भएर बिहे गर्नुपर्ने सिद्धान्त आफ्ना छोरीहरूलाई सिकाउँदै पनि आएकी छु।
पैत्रिक सम्पत्ति छोरीको लागि धन मात्र हैन रहेछ। सम्पत्ति त छोरीको लागि साहस रहेछ। सुरक्षा रहेछ। सम्मान रहेछ। स्वाभिमान र सिर्जना पनि रहेछ। छोरीहरू जन्मघरबाट रित्तो हात कर्मघरमा जाँदा भूगोलविहीन हुने रहेछन्। भूगोल बोकेर हिँडेकी चेलीलाई कुनै माईका लालले घरबाट आजै निस्की, भोलि नै निस्की भन्न सक्दैन। बात-बातमा तेरो बाउको घर हो र ! तेरै बाउको घर जा पनि भन्न सक्दैन।
सीप, शिक्षा र सम्पतिको त्रिशूल लिएर हिँडेकी चेली पक्कै अपमानको घुट पिएर बाँच्न विवश हुन्न होली। अर्थले निकै अर्थ लाग्दो रहेछ। दिदीबहिनीहरूका
अनुभवहरू सुन्दै गर्दा हृदय पनि काम्छ। आखिर आजका दिनसम्म पनि किन हामीले मानवअधिकारका कुरा नै गर्नु परेको छ। के नारी अधिकार र वादका कुरा गर्नु यहाँ त मान्छे भएर बाँच्न पाउने नैसर्गिक अधिकारबाट पनि वञ्चित छन् छोरीहरू। समयको सुन्दर संसारमा आज पनि सामान्य समानताको माग गर्नुपरेको छ? समानता माग्ने चिज हो र ! यो त संस्कार हुने पर्ने होइन र!
नारी दिवसको दिनलाई रमाइलो वातावरणमा मनाउँदै पुनः घरतिर फर्कियौँ। चाबहिलसम्म त गाडीमा पनि अन्ताक्षरी खेल्न छाडेनौँ तथापि घाँटी सुकेर प्याक प्याक हुँदैछ। चाबहिलबाट प्रभा म्याम र म सबैसँग बिदा भएर गाडीबाट ओर्लियौँ। पाँच पोखरी यातायात चन्दागिरिसम्म आउजाउ गर्ने भएकोले सार्वजनिक यातायात सहज नै छ। प्रभा म्याम पनि ढुङ्गेधारासम्म सँगै हुने भएकाले एउटै गाडीमा हामी उक्लियौँ। गाडीभरि पनि साहित्यिक भलाकुसारीमै हराउँदै र आ-आफ्नो गन्तव्यतिर लाग्यौँ ...।