डिजिटल युगको यात्रामा हामी जति अघि बढिरहेका छौँ, साइबर अपराधको जाल त्यति नै फराकिलो हुँदै गएको छ। यो अब केवल प्राविधिक ज्ञानको कमीको विषय होइन, बरु मानवीय मनोविज्ञान र भावनात्मक कमजोरीको खेल हो।
काठमाडौँका २३ वर्षीय सुजन श्रेष्ठ (नाम परिवर्तन) ले आफ्नो मोबाइलमा ‘तपाईंको खाता ब्लक भइसकेको छ, तुरुन्त यो लिङ्कमा क्लिक गरेर रिकभर गर्नुहोस्’ भन्ने सन्देश प्राप्त गरे। बैंकको नामबाट आएको देखेर उनले बिना सोचविचार लिङ्कमा क्लिक गरे। पन्ध्र मिनेटभित्रै उनको खातामा रहेको ७५ हजार रुपैयाँ गायब भयो।
सुजनको कथा एक्लो होइन। नेपाल प्रहरीको साइबर ब्युरोले आर्थिक वर्ष २०८१/०८२ मा मात्र १८ हजार ९२६ साइबर अपराधका उजुरी दर्ता भएको जनाएको छ। यो भनेको दैनिक औसतमा ५२ वटा उजुरी हो। यसमध्ये आर्थिक ठगीका मात्र ७ हजार ७२३ उजुरी दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८८ प्रतिशतले बढेको छ।
अपराधको नयाँ मनोविज्ञान
आधुनिक साइबर अपराधीहरू अब केवल तपाईंको पासवर्ड चोर्दैनन्, बरु तपाईंको विश्वास ह्याक गर्छन्। अमेरिकी मनोवैज्ञानिक डा. जोन कासियोप्पोले आफ्नो चर्चित पुस्तक 'लोन्लिनेस' मा एक्लोपनलाई एउटा गम्भीर जैविक संकटका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार लामो समयसम्म एक्लोपनको भुमरीमा फसेको व्यक्तिको मस्तिष्कले त्यसलाई 'अस्तित्व रक्षाको खतरा' का रूपमा लिन्छ।
यस्तो अवस्थामा मस्तिष्कको 'प्रि-फ्रन्टल कोर्टेक्स' - जसले तर्क गर्ने, सही-गलत छुट्टाउने र ठोस निर्णय लिने क्षमतालाई नियन्त्रण गर्छ, शिथिल बन्न पुग्छ। साथै मस्तिष्कमा 'कोर्टिसोल' जस्ता तनाव उत्पन्न गर्ने हर्मोनको मात्रा बढ्छ, जसले गर्दा मानिसले सम्भावित जोखिमलाई चिन्न सक्दैन र अपरिचित व्यक्तिमाथि छिट्टै विश्वास गर्न पुग्दछ।
डा. कासियोप्पोले एक्लोपनलाई 'सामाजिक भोक' को संज्ञा दिएका छन्। जसरी कयौँ दिनदेखि भोको मानिसले खाना देख्दा त्यसको गुणस्तरभन्दा पनि केवल पेट भर्नुलाई प्राथमिकता दिन्छ, त्यसरी नै सामाजिक रूपमा एक्लो महसुस गरिरहेको व्यक्तिले इन्टरनेटमा कसैले दिने सानो 'लाइक', 'हेल्लो' वा दुई शब्द मिठो बोलीलाई पनि ठुलो पुरस्कार सम्झिन्छ।
डिजिटल विरोधाभास
'नेचर ह्युमन बिहेभियर- २०२४' मा प्रकाशित शोधले एउटा तीतो सत्यलाई उजागर गरेको छ- हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ डिजिटल कनेक्टिभिटी त चरम सीमामा छ तर वास्तविक मानवीय सम्बन्ध शून्यप्रायः छ। यसलाई 'फबिङ' भनिन्छ- यस्तो अवस्था जहाँ मानिस शारीरिक रूपमा सँगै भएता पनि एकअर्काको आँखामा हेर्नुको सट्टा मोबाइलकै स्क्रिनमा टोलाइरहेका हुन्छन्।
ब्रिघम यंग युनिभर्सिटीकी प्रोफेसर जुलियान होल्ट-लुन्स्टाडले ३ लाखभन्दा बढी मानिसमा गरेको अध्ययनले देखाएअनुसार सामाजिक सम्बन्धको कमी हुनु स्वास्थ्यका लागि दैनिक १५ खिल्ली चुरोट पिउनुसरह घातक हुन्छ। यही शोधलाई आधार मान्दै अमेरिकी सर्जन जनरल डा. विवेक मूर्तिले सन् २०२३ देखि यसलाई 'लोन्लिनेस एपिडेमिक' (एक्लोपनको महामारी) घोषणा गरेका छन्।
पिग बुचरिङ: नयाँ खतरा
एक्लोपनको यही घातक अवस्थाको फाइदा उठाउँदै अपराधीहरूले 'रोमान्स स्क्याम' र 'पिग बुचरिङ' जस्ता अपराधको जालो विस्तार गरिरहेका छन्। यसमा अपराधीले महिनौँसम्म पीडितसँग कुरा गरेर भावनात्मक सम्बन्ध बनाउँछन्। सुरुमा झुटो माया देखाएर विश्वास जित्ने र बिस्तारै क्रिप्टोकरेन्सी वा नक्कली लगानीको प्रलोभनमा पारेर सर्वस्व लुट्ने गरिन्छ।
पोखराकी युवती अनिता गुरुङ (नाम परिवर्तन) यस्तै ठगीको सिकार भइन्। इन्स्टाग्राममा देखेको एउटा कपडाको पसलबाट अर्डर गरिन्। ३५०० रुपैयाँ तिरिन्। एक महिना भयो, न त सामान आयो, न त पैसा फिर्ता भयो। पेज नै डिलिट भइसक्यो।
महेन्द्रनगरका व्यवसायी रमेश चौधरीको अनुभव अझै पीडादायक छ। ‘मेरो फेसबुक पेज ह्याक भयो। चार वर्षको मेहनतमा बनाएको ८ हजार फलोअर्स गुमाएँ। प्रहरीमा जाँदा उनीहरूलाई नै यो विषयमा पर्याप्त जानकारी थिएन,’ उनले भने।
नेपालमा प्रभाव
नेपाल प्रहरी साइबर ब्युरोले २०७९ असारमा काठमाडौँको धुम्बाराहीस्थित 'अर्बिट नेक्सस प्रालि' नामक कल सेन्टरमा छापा मारी १३ जनालाई पक्राउ गरेको थियो। उक्त कल सेन्टरले अमेरिकी र क्यानेडियन वृद्धवृद्धाहरूलाई विशेष लक्षित गरी 'टेक सर्पोट'को नाममा ठगी गरेको अनुसन्धानबाट खुलेको थियो। अनुसन्धान अनुसार, ती वृद्धवृद्धाहरू एक्लोपनका कारण कसैसँग पर्याप्त सल्लाह लिन नपाउँदै ठगीको सिकार भएका थिए।
त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोले २०८२ असारमा 'सोसल सफ्टवेयर डेभ्लपमेन्ट कम्पनी' को आवरणमा लुकेर 'मिटु' डेटिङ एपमार्फत ठगी गर्ने समूहलाई पक्राउ गर्यो। उक्त समूहले खास गरी भावनात्मक रूपमा कमजोर युवायुवतीलाई निशाना बनाएको थियो।
साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालका अनुसार साइबर अपराध दैनिक बढिरहेको छ। ‘विशेष गरी युवा र विद्यार्थीहरू सजिलै ठगिने गरेका छन्। यस्ता अपराधका मुख्य माध्यमहरू फेसबुक, मेसेन्जर, टिकटक र ह्वाट्सएप देखिएका छन्,’ उनले भने।
सुरक्षाका उपायहरू
साइबर सुरक्षा विशेषज्ञ सुरेश तिवारीका अनुसार जागरूकता नै मुख्य उपाय हो। ‘कुनै पनि अचम्मको लिङ्कमा तत्काल क्लिक गर्नु हुँदैन। बैंकले कहिल्यै इमेल वा एसएमएसमार्फत पासवर्ड सोध्दैन,’ उनले भने।
विशेषज्ञहरूले बलियो पासवर्ड प्रयोग गर्न, टु-फ्याक्टर अथेन्टिकेसन (टुएफए) सक्रिय गर्न, सार्वजनिक वाइफाईमा बैंकिङ नगर्न र अनलाइन सपिङ गर्दा साइटको समीक्षा राम्ररी पढ्न सुझाव दिएका छन्।
‘१२३४५६ वा आफ्नो नाम पासवर्डमा प्रयोग गर्नु भनेको घरको ढोका खुला राख्नु जस्तै हो,’ तिवारीले थपे।
साइबर ब्युरोले ठगीको सिकार भएमा तुरुन्त प्रमाण (स्क्रिनसट, मेसेज) सुरक्षित राख्न, बैंकलाई तत्काल जानकारी दिन र प्रहरीमा उजुरी गर्न आग्रह गरेको छ। साइबर ब्युरोको हटलाइन नम्बर ९८५१२८०६०८ मा पनि सम्पर्क गर्न सकिने छ।
शैक्षिक संस्थाको भूमिका
विशेषज्ञहरूले शैक्षिक संस्थाहरूले साइबर सुरक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्। सिद्धार्थ विज्ञान क्याम्पस, महेन्द्रनगरमा हालै आयोजित जागरूकता कार्यक्रममा ५० जना विद्यार्थीमध्ये ४० जनालाई टु-फ्याक्टर अथेन्टिकेसन बारे जानकारी नभएको पाइयो।
आइटी विद्यार्थी तथा साइबर सुरक्षा कार्यकर्ता विवेक जोशीले सचेतना नै मुख्य उपाय भएको बताए। ‘युवाहरू सामाजिक सञ्जालमा सबैभन्दा बढी समय बिताउँछन् तर सुरक्षाको ज्ञान छैन। हामीले आफ्नो परिवार र समुदायलाई शिक्षित गर्नुपर्छ,’ उनले भने।
नेपाल सरकारले इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ मार्फत साइबर अपराध नियन्त्रणको कानुनी व्यवस्था गरे पनि कार्यान्वयन कमजोर रहेको विशेषज्ञहरूको भनाइ छ।
निष्कर्ष
प्रविधिले मानिसलाई जोडेको त छ तर बाँधेको छैन। यो डिजिटल युगमा हामी जति धेरै अनलाइन हुन्छौँ, त्यति नै धेरै असुरक्षित पनि भइरहेका छौँ। साइबर अपराधीहरू तपाईंको घरको ढोकाबाट होइन, तपाईंको भावनात्मक कमजोरीको झ्यालबाट प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
डिजिटल नेपाल निर्माणको सपना साकार पार्न साइबर सुरक्षित वातावरण अत्यावश्यक छ। आधारभूत सावधानी र जागरूकताले मात्रै धेरै हदसम्म सुरक्षित रहन सकिन्छ। आफ्नो डिजिटल पर्खाल मात्र होइन, आफ्नो भावनात्मक विवेकलाई पनि मजबुत बनाऔँ। तपाईंको एक्लोपन कसैका लागि डलर कमाउने अवसर नबनोस्।
(लेखक सिद्धार्थ विज्ञान क्याम्पस, महेन्द्रनगर, कञ्चनपुरमा आइटी अध्ययनरत विद्यार्थी हुन्।