युरोपियन युनियनकी (इयु) विदेश मामिला प्रमुख काया कालासले इरानसँगको युद्ध अन्त्य गर्न निकै कठिन हुने टिप्पणी गरेकी छन्।
ब्रसेल्समा आयोजित युरोपेली परिषद्को शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले युरोपेली राष्ट्रहरूलाई अमेरिका र इसराइलले सुरू गरेको युद्धमा सहभागी नहुन पनि सचेत गराइन्।
'युद्ध सुरू गर्नु प्रेम सम्बन्ध जस्तै हो — यसमा प्रवेश गर्न सजिलो छ तर बाहिर निस्कन गाह्रो छ,' उनले युद्धलाई प्रेमसँग तुलना गर्दै भनिन्।
अमेरिका र इसराइलले आक्रमण गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ।
यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।
तेल बोक्ने जहाजहरूलाई ‘स्कर्टिङ’ गरेर हर्मुज खुलाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्स, जर्मनी र बेलायत लगायतका युरोपेली राष्ट्रहरूलाई युद्धपोत पठाउन आग्रह गरेका छन्। यस्तो बेलामा युद्धपोत पठाएर युद्धमा संलग्न नहुन कालासले सजग गराएकी हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)