मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ।
कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको बताएका छन्।
नगरपालिकाका अनुसार प्रभावित फार्म वरपरका कुखुरामा पनि समान लक्षण देखिएको छ भने केही कुखुरा मरेका छन्। कोयसले संक्रमण फैलिने जोखिम बढाएको भन्दै सम्बन्धित सबैलाई सचेत रहन अनुरोध गरिएको छ।
सूचनाअनुसार प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसार अर्को सूचना नआउञ्जेल पूर्ण रूपमा बन्द गरिएको छ।
कुखुरामा असामान्य बिरामीपन वा अचानक मृत्यु देखिएमा तुरून्त वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन भनिएको छ।
कुखुरा पालकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन तथा प्रवेश–निर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर, साबुन पानी प्रयोग गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
संक्रमित तथा शंकास्पद कुखुराको सुरक्षित नष्ट तथा व्यवस्थापन तोकिएको मापदण्डअनुसार गरिने जनाइएको छ।
स्थानीय बजार र कुखुरा पसलहरूलाई समेत सम्बन्धित निकायको अनुगमन र निर्देशन पालना गर्न नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले संक्रमण नियन्त्रण र रोकथामका लागि सम्पूर्ण नगरबासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।
बर्डफ्लु कुखुरा तथा अन्य चराचुरूंगीमा लाग्ने भाइरसजन्य संक्रामक रोग हो। यो रोग संक्रमित कुखुरा, तिनको दिसा, र्याल वा सम्पर्कमा आएका वस्तुहरूबाट सजिलै फैलिन्छ। यसले कुखुरामा उच्च मृत्युदर गराउँछ र व्यवसायिक रूपमा ठूलो क्षति पुर्याउन सक्छ।
नेपालमा हरेक वर्ष जस्तो बर्डफ्लुले कुखुरापालन व्यवसायमा ठूलो क्षति गर्दै आएको छ।