कैलालीमा सशस्त्र प्रहरीको ब्यारेक भित्रै प्रवेश गरेर स्थानीयले प्रहरी नायब उपरीक्षक (डिएसपी)माथि हातपात गरेका छन्।
टीकापुरस्थित खक्रौला भन्साको सशस्त्र प्रहरी सीमा सुरक्षा ब्यारेक भित्रै प्रवेश गरेर स्थानीय व्यापारीहरूले सशस्त्रका डिएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन्।
सामान खोसेको निहुँ आक्रोशित स्थानीय व्यापारीहरूको एक समूह ब्यारेकभित्र छिरेका थिए। सामाजिक सञ्जालमा त्यसको भिडिओ पनि सार्वजनिक भएको थियो।
सशस्त्रले भारतबाट भन्सार छली गरेर ल्याएको आशंकामा मंगलबार बिलबिजक नभएको सामान नियन्त्रणमा लिएको थियो। घटनापछि उद्योग वाणिज्य संघका पदाधिकारीसहित छलफल पनि भएको थियो ।
छलफलबाट बिल भन्दा बढीका सामान भन्सार कार्यालयमा बुझाउने सहमति भएको जिल्लाका सशस्त्र प्रहरी प्रमुख एसपी खुमबहादुर केसीले बताए।
तर, बुधबार फेरि सोही विषयलाई लिएर ५ / ६ जना जति स्थानीय व्यापारीहरू ब्यारेक भित्रै प्रवेश गरी डिएसपी पौडेलमाथि हातपात गरेको एसपी केसीले बताए ।
घटनाको छानबिनका लागि समिति नै बनाइएको सशस्त्रका एसपी केसीले बताए।
छानबिनपछि बरामद सामग्री भन्सार छलीको हो वा होइन भन्ने खुल्ने र त्यसपछि मात्रै थप कुरा भन्न मिल्ने उनले बताए।