दुई सन्तानसहित आमाले भेरी नदीमा हाम फालेको घटनामा श्रीमान विरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्तापछि पक्राउ परेका छन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले चैत १ गते ११ वर्षीया छोरी र पाँच वर्षका छोरा सहित भेरी नदीमा हामफालेको आशंका भइरहेको छ। नदी किनारमा झोला, मोबाइल, चप्पल र सल लगायतका वस्तुहरु फेला परेपछि उनीहरूको खोजी थालिएको थियो।
खोजीका क्रममा भेरी नदीमा २ गते आमा मायाको र ३ गते छोरीको शव फेला परेको थियो। तर, ५ वर्षीय छोराको अवस्था भने अझै अज्ञात छ।
यो घटनापछि मायाका बुवा बासुदेव गिरीले ३७ वर्षीय ज्वाइँ भूपेन्द्र कठायतविरूद्ध आत्महत्या दुरूत्साहन सम्बन्धी मुद्दा इलाका प्रहरी कार्यालय छिन्चुमा दर्ता गरेका थिए।
मुद्दा दर्तापछि भूपेन्द्रलाई बिहीबार बिहान पक्राउ गरिएको इप्रका छिन्चुका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले बताए।
ससुरा बासुदेवले ज्वाइँ भूपेन्द्र विरूद्ध दायर गरेको आत्महत्या दुरूत्साहन मुद्दामा ज्वाइँको यातनाको कारण आफ्नी छोरीले नातिनी र नातिसहित नदीमा हामफाल्न बाध्य भएको कुरा उल्लेख छ।
भूपेन्द्रले दैनिक मदिरा सेवन गरी झैझगडा र कुटपिट गर्ने तथा यातना दिने गरेका कारण त्यो सहन गर्न नसकी बाध्य भएर छोरीले आफ्ना कलिला सन्तानसहित भेरी नदीमा हाल फालेर आत्महत्या गरेको बासुदेवले दिएको जोहरीमा उल्लेख छ।
‘जाहेरीकर्ताले श्रीमानको चरम यातनापछि मेरी छोरीले छोराछोरीसहित भेरी नदीमा हामफालेर आत्महत्या गर्न बाध्य पारेको हुँदा अन्यायी ज्वाइँ भूपेन्द्रमाथि कडा कानुनी कारबाहीको माग गरिएको छ,’ प्रहरी निरीक्षक केसीले भने।
गुर्भाकोट– १२ का वडाध्यक्ष तुलसीप्रसाद शर्माका अनुसार श्रीमानसँगको झगडापछि फागुन २८ गते बेलुकी माया छोरा छोरीसहित झन्डै १ किलोमिटर टाढा रहेको काका नाता पर्ने आफन्तको घरमा गएकी थिइन्। फागुन ३० गते बिहान छोरी आशा एक्लै घर गएकी थिइन्। सोही दिन बेलुका बाबु–छोरी फेरि मायालाई लिन भनेर गएका थिए।
तर, उनीहरूका बीचमा त्यही पनि झगडा भयो। श्रीमान–श्रीमतीका बीचमा मेलमिलाप गराएर मात्रै भतिजी घरमा पठाउन काका चाहन्थे। त्यसैले उनले रातिमा भतिजी पठाउन मानेनन्। मायाले पनि रातिमा जाँदिनँ भोलि बिहान आउँछु भनेपछि भूपेन्द्र एक्लै घर फर्किएका थिए।
गरेको वाचा अनुरूप माया छोराछोरीसहित बिहान काकाको घरबाट घर जान भनेर हिँडेकी थिइन्। तर, उनी घर पुगिनन्। बरू बीचमा पर्ने नदी किनारमा आइतबार दिउँसो कपडा, चप्पल, ब्याग र मोबाइल फेला पर्यो। त्यसपछि छोराछोरीसहित मायाले नदीमा हाम फालेको आशंकामा खोजी सुरू भएको थियो।
‘यो बीचमा आमा र छोरीको शव फेला परे पनि ५ वर्षीय छोराको अवस्थाबारे अझै अज्ञात छ,’ वडाध्यक्ष शर्माले भने, ‘हामीले बालकको निरन्तर खोजी गरिरहेका छौं। अहिले पनि खोजीका लागि डुंगामै सवार छु।’
वडाध्यक्ष शर्माले नगरपालिकाको सहयोगमा खोजी कार्य भइरहेको बताए।
यी पनि:
छोरा-छोरीसहित भेरीमा एक महिला बेपत्ता भएको आशंका, नदी किनारमा भेटियो कपडा र झोला
अपडेट– भेरीमा बेपत्तामध्ये छोरीको शव पनि फेला