निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गइरहेको छ।
निर्वाचन आयोगले सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिह्न बाहेक अन्य चिह्न, छाप वा औँठा छाप लगाएको, नबुझिने गरी मत संकेत गरेको, चिह्न भएको कोठाभन्दा बाहिर मत संकेत गरिएको, एकभन्दा बढी चिह्नमा मत सङ्केत गरिएको लगायतका मतहरू बदर हुने भनेको छ।
तर मतदातासँग निर्वाचन शिक्षा पुग्न नसक्दा बदर मतको संख्या बढ्दै गएको छ भने त्यही मत बदर भएकै कारण कतिपय क्षेत्रमा जित्ने उम्मेदवारले हार्ने र हार्ने उम्मेदवारले जित्ने गरी मत परिणाममै फरक समेत पार्ने गरेको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत बदर भएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशका १२ वटा जिल्लामा गरी एक लाख २ हजार ९५६ मत बदर भएको हो।
प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरका अनुसार लुम्बिनी प्रदेशमा २० लाख २१ हजार ९६१ मत खसेको थियो। जसमध्ये १ लाख २ हजार ९५६ मत बदर भएको छ भने १९ लाख ४० हजार ६७८ मत सदर भएको छ।
प्रदेश भरी ५ प्रतिशतभन्दा बढी मत बदर भएको छ। सबभन्दा बढी रूपन्देहीमा प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रममा खर्च गरे पनि त्यसको उपलब्धि भने शून्य देखिएको छ।
मत गणनाका क्रममा कतै ल्याप्चे लगाएका, कुनै ठाउँमा एक भन्दा धेरै चिह्नमा छाप लगाएका मतपत्र फेला परेका थिए। रूपन्देहीका ग्रामीण क्षेत्रमा छाप नलगाएका रित्तै मतपत्र समेत फेला परेका थिए। यसले वर्षौंदेखि मतदाता शिक्षामा गरिएको लगानी खेर गइरहेको देखाएको छ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख कल्पना अर्यालले मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा धेरै मत बदर भएको बताइन्। रूपन्देहीमा निर्वाचन कार्यालयले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।
स्थानीय तहका प्रत्येक वडामा एक–एक जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर भोट हाल्न सिकाइएको भए पनि बदर मत संख्या धेरै पाइएकोले आगामी दिनमा थप सुधार गर्नुपर्ने देखिएको अर्यालले बताइन्।
त्यस्तै कपिलवस्तुमा १६ हजार ७८४, बाँकेमा १३ हजार ४४२, नवलपरासी पश्चिममा १० हजार ४७७ तथा बर्दियामा १० हजार ३६८ मत बदर भएको छ। त्यसै गरी दाङमा १० हजार ६९८ मत बदर भएको छ।
तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाहरूमा बदर मत संख्या कम छ। सबैभन्दा कम रूकुम पूर्वमा ५६३ मत बदर भएको छ। रूकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेको थियो।
निर्वाचन कार्यालयका अनुसार अर्घाखाँचीमा ३ हजार २२०, रोल्पामा ३ हजार १४४ र प्युठानमा ३ हजार २८७ मत बदर भएको छ। त्यस्तै गुल्मीमा ४ हजार १४०, पाल्पामा ४ हजार ७९८ मत बदर भएको छ।