फागुन २१ गतेको चुनाव आउन अझै २ महिना १० दिन बाँकी छ। राजनीतिक दलले उम्मेदवार चयन गरिसकेका छैनन्। प्रत्यक्षतर्फ माघ ६ गतेलाई उम्मेदवारी दर्ताको दिन तोकिएको छ। समानुपातिकतर्फ यही पुस १३ र १४ गते ६ क्लस्टरमा ११० जना उम्मेदवारको सूची बुझाउनुपर्ने छ।
दलहरूलाई यसैको चटारो छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पुराना पार्टीदेखि नयाँ खुलेका पार्टीहरू यसमै तल्लीन छन्।
सूची बुझाउने समयसीमा नजिकिँदै जादा धेरै पार्टीहरूले मातहतका कमिटीबाट नाम मागिरहेका छन्। तलबाट नाम मागे पनि अन्तिममा नेताहरूले नै रोजेका र छानेका नाम बुझाउँदा समानुपातिक निर्वाचन प्रणालीले असन्तोष पनि जन्माइरहेको छ। विगतमा समानुपातिक सूचीमा राज्य र पार्टी नेतृत्वसँग सीधा पहुँच भएका, पार्टीलाई मनग्गे दान–दातव्य दिन सक्नेहरू नै पर्ने गरेको भन्दै आलोचनासमेत हुने गरेको थियो।
अरू दलहरूमा यसको सुधारको संकेत देखिएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने फरक ढंगले समानुपातिक उम्मेदवार छानिरहेको दाबी गरेको छ। यो विधि अक्षरशः पालना गरिँदा क्षमतावान् र आउनै पर्ने व्यक्ति र समूदाय नछुट्ने दाबी उसको छ।
योग्य उम्मेदवार छनोट गर्ने भन्दै रास्वपाले अहिले पार्टीपंक्ति जनस्तरमा परिचालित गरेको छ।
रास्वपाका नेता–कार्यकर्ता गत सोमबार र मंगलबार घर दैलोमा व्यस्त थिए। चुनावी उम्मेदवारकै शैलीमा उनीहरूले नागरिकसमक्ष पार्टीका कुरा बताए। र, अन्तिममा मतसमेत मागे।
उनीहरू निर्वाचनकै लागि मत माग्न भने गएका होइनन्। यसरी मत माग्न जाने नवीन तथा यसअघि सांसदसमेत भइसकेका अनुहार उम्मेदवारको आकांक्षी भने छन्।
प्रदेशगतरूपमा रास्वपाले दुई दिनअघि सार्वजनिक गरेको समानुपातिक उम्मेदवारका प्रत्यासीहरूको सूचीमा उनीहरूको नाम समावेश छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएका ३८० जनाभन्दा बढी आकांक्षीहरूसहित जिल्ला समिति, निर्वाचन क्षेत्र, पालिका र वडा तहका नेता–कार्यकर्ता समावेश गरेर समूह–समूहमा विभाजन गर्दै घर–दैलोमा पठाएको थियो। त्यहाँ उनीहरू चुनावमा उम्मेदवारका लागि भोट मागेकै शैलीमा प्रस्तुत भए। पार्टीका कुरा गरे।र उम्मेदवारका रूपमा आफ्नो प्रस्तुति दिएका थिए।
निर्वाचन संयोजन समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार फागुन २१ गतेका लागि समानुपातिक उम्मेदवारहरू छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया आरम्भ गरेको थियो। रास्वपाले पहिलो चरणमा मंसिर २५ गतेसम्म आवेदन दिने समय निर्धारण गरेको थियो।
त्यही समयमा सरकार–जेनजीबीच सहमति भएर उम्मेदवारको मापदण्डलगायत केही विषय हेरफेर हुने सम्भावना रहेको भन्दै उसले समानुपातिकतर्फ उम्मेदवारीका लागि आवेदन दिने समय पुस ५ गतेसम्म सार्यो।
आचार्यका अनुसार पुस ५ गतेदेखि पार्टीले विधिवत् रूपमा उम्मेदवार छनोटको प्रक्रिया आरम्भ गरेको छ। रास्वपाले पुस ५ गते सातै प्रदेशका उम्मेदवारसँग छलफल गरेको थियो। सातै प्रदेशमा उसले उम्मेदवारहरूसँग बेग्लाबेग्लै छलफल गर्यो। त्यसका लागि उसले फोकल पर्सन (सम्पर्क व्यक्ति) समेत तोकेको थियो। प्रदेश सभापतिका अतिरिक्त केन्द्रबाट सम्पर्क व्यक्ति पनि पठाएको थियो। कतिपय प्रदेशमा एक जना तथा कतिपय प्रदेशमा एकभन्दा बढी पनि पठाइएको थियो। जसअनुसार कोशीमा निवर्तमान सांसदद्वय निशा डाँगी र अशोक चौधरी खटाइएका थिए। मधेसमा निवर्तमान सांसद मनीष झा, बागमतीमा निवर्तमान सांसद विराजभक्त श्रेष्ठ, गण्डकीमा निवर्तमान सांसद शिशिर खनाल, निवर्तमान सांसद लुम्बिनीमा गणेश पराजुली कर्णालीमा पनि निवर्तमान सांसदद्वय हरि ढकाल र विनिता कठायत, सुदूरपश्चिममा दीपक बोहरा खटिएका थिए।
उनीहरूले त्यहाँ आकांक्षी उम्मेदवारहरूसँग छलफल गरे। त्यसपछि गत पुस ७ र ८ गते रास्वपाले उम्मेदवारका प्रत्यासी, प्रतिस्पर्धीहरूलाई घरदैलो गराएको हो।
‘घरदैलोमा जानुपूर्व हामीले जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको कमिटीका सदस्यहरू मिलाएर समूहमा बाँडेका थियौं, त्यसमा उम्मेदवारहरू पनि हुनुहुन्थ्यो,’ आचार्यले सेतोपाटीसँग भने, ‘यसरी घरदैलोमा पठाउँदा हामीले अवलोकनका लागि केन्द्रबाट अन्य नेताहरू पनि खटाएका थियौं। उहाँहरूले घरदैलोमा गएका उम्मेदवारहरूले नागरिकसँग कसरी व्यवहार गर्छन्? कस्ता कुरा राख्छन्? कति मुद्दा, समुदायगत विषयमा केन्द्रित हुन्छन्? कस्तो धारणा राख्छन्? कति पार्टीका, आफ्ना कुरा भन्छन्? प्रश्नहरूलाई कसरी डिल गर्छन् भनेर सूक्ष्म रूपमा अवलोकन गर्न लगाएका थियौं।’
यसरी घरदैलो गरेका सांसदहरूले बिहीबार र शुक्रबार ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुति दिँदैछन्। ब्लुप्रिन्ट प्रस्तुति र शून्य समयमा लागि ६ वटा क्लस्टमा उम्मेदवार बाँडिएको छ। उनीहरूले क्लस्टरक्लस्टरमा नै आवेदन दिएका थिए। जुन क्लस्टरमा उम्मेदारी दिएका थिए, प्रस्तुति पनि त्यही समूहमा दिँदै छन्।
६ क्लस्टर; खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, थारू आदि क्लस्टर बाँडेर उनीहरूलाई छुट्टाछुट्टै प्रस्तुति दिन लगाइने र यसरी बाँडिएको क्लस्टरहरूमा तीन–तीन जनाको मूल्यांकन समिति पनि बनाइएको छ। उनीहरूले क्षेत्रगतरूपमा मूल्यांकन फारम भरेर निर्वाचन समितिलाई बुझाउने आचार्यले बताए।
ब्लुप्रिन्ट प्रस्तुतिमा उम्मेदवारका प्रत्यासीले सांसदका रूपमा गर्नुपर्ने काम, उठाउनुपर्ने एजेन्डा, नीति निर्माण तहमा खेल्नुपर्ने भूमिकाका सन्दर्भमा केन्द्रित भएर प्रस्तुति दिनेछन्। यसरी प्रस्तुति दिन एक सदस्यलाई कम्तीमा १० मिनेटको समय उपलब्ध गराइने छ।
यसरी प्रस्तुति दिने आकांक्षीहरूले आफूबाहेक प्रस्तुतकर्ताको मूल्यांकनसमेत गर्नुपर्नेछ। यसो गर्नुको अर्थ उम्मेदवारहरूको मूल्यांकनसम्बन्धी सीपको नापजाँच गर्नु र त्यससम्बन्धी क्षमताको विकाससमेत गराउनु रहेको आचार्यले बताए।
शून्य समयमा भने प्रतिनिधि सभामा शून्य समयवापत उपलब्ध गराइने एक मिनेटभित्र उठाउनुपर्ने विषय नै त्यहाँ राख्न लगाइने आचार्यले बताए।
यो प्रक्रिया पूरा गरेका आकांक्षीहरूलाई गुगल फारम भराइने छ। फारममा राजनीतिक क्षेत्रसँग सम्बन्धित बहुविधागत, बहुआयामिक प्रश्नावलीहरू समाविष्ट हुनेछन्।
यो प्रक्रियामा सामेल भइसकेपछि रास्वपाले पुस १२ गते बिहान ७ बजेदेखि पुस १३ गते साँझ ७ बजेसम्म प्रारम्भिक मतदानको समय निर्धारण गरेको छ।
रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो।
यसपटक रास्वपाले उम्मेदवारसँग छलफल, घरदैलो, ब्लुप्रिन्ट प्रस्तुति–शून्य समय, गुगल फारममार्फत लिडरसिप एकेडेमी र पोलिटिक प्रोक्सिमिटीको मापन गर्नेछ। यी सबैको भारांक ५० प्रतिशत निर्धारण गरिएको छ। प्राइमरी इलेक्सनको भारांक ५० प्रतिशत हुने आचार्यले बताए। प्राइमरी इलेक्सनमा रास्वपाका सम्पूर्ण सदस्यहरूले ११० जना उम्मेदवारका आकांक्षीहरूलाई भोट हाल्नेछन्।
समूह (प्रदेशगत) मा भाग लिन नसकेका आकांक्षीहरूका लागि सचिवालयले नै भर्चुअल विधिमार्फत् छलफल गरेको थियो। यसमा प्रवासमा रहेका, अपांगता भएका र अन्य विविध कारणले छुटेका आकांक्षी समेटिएका थिए।
उम्मेदवार छनोटको चरणमा भाग नलिएका, कतिपय प्रक्रिया छुटेका उम्मेदवारहरूको हकमा के गर्ने भनेर सचिवालयले निर्णय गर्ने आचार्यले बताए।
‘यद्यपि यो प्रक्रियामा भाग नलिएका, कुनैमा छुटेका र कुनैकुनैमा मात्र सहभागी भएकाहरूको नेगेटिभ मार्किङ अर्थात् भाग लिएका प्रक्रियाबाट नम्बर कटौती हुने छ,’ आचार्यले भने।
रास्वपाले यसअघि नै उम्मेदवार छनोटको रूपरेखा (विधि) तयार पारेर सचिवालयबाट पारित गरेको थियो। आचार्यले नै यो विधि तयार पारेका थिए। उनी यसअघि रूपन्देही–२ मा उम्मेदवार छनोट गर्दा पनि संयोजक थिए।
अहिले आचार्य आफै समानुपातिकतर्फ उम्मेदवारका प्रत्यासी छन्। यी प्रक्रियामा आफै पनि भाग लिइरहेका छन्।
‘आफैले विधि तयार पारे पनि यसबाट जाँचिनुपर्छ भनेर म पनि सबै प्रक्रियामा भाग लिइरहेको छु, सदस्यहरूको मूल्यांकनको कसीमा जाँचिन पाउँदा खुसी पनि छु,’ उनले भने।














