नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज दिनभरजसो उम्मेदवारी दर्ताको क्रम चल्यो।
अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारी परेको छ र उनीहरूबीच प्रतिस्पर्धा हुने निश्चित देखिन्छ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले प्यानल नै बनाएर पदाधिकारीमा प्रतिस्पर्धा गर्न लागेका हुन्। दुवै तर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता भएका छन्।
उम्मेदवारी दर्तासम्म आइपुग्दा अध्यक्ष ओली समूह एकढिक्का रहन सकेन। कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्तलगायत नेताहरू अध्यक्ष ओली समूह छाडेर पोखरेल समूह तथा स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न पुगेका छन्।
इच्छा लागेको पदमा उम्मेदवारी दर्ता गर्न नपाएकोमा नेता प्रदीप ज्ञवाली नेतृत्वसँग असन्तुष्ट छन्। उनलाई ओली समूहबाट उपाध्यक्ष पदमा उम्मेदवार बनाउने भनिए पनि मानेनन्। केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिए।
ज्ञवालीलाई मनाउन नेताहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरूङ मात्र होइन, अध्यक्ष केपी शर्मा ओली पनि लागेका थिए। नेता पद्मा अर्यालका अनुसार ज्ञवाली र अध्यक्षबीच संवाद पनि भएको थियो।
नेता ज्ञवालीका स्वकीय सचिव खेमराज ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी परेको बताए। ‘उहाँले केन्द्रीय सदस्यमा मात्रै उम्मदेवारी दिनुभएको छ,’ उनले भने, ‘नेताहरूसँग संवाद भने भइरहेको छ।’
निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाका अनुसार उम्मेदवारी दर्ताको समय सकिइसकेको छ।
यस्ता घटनाक्रमले ओली समूह एकढिक्का नरहेको देखाउँछ।
अध्यक्ष ओलीले ११ औं महाधिवेशन उद्घाटन सत्र सकिइसकेपछि पनि केन्द्रीय समिति बैठक बोलाएर पुरानै विधान ब्युँत्याएका थिए।
विधान संशोधनको प्रस्ताव फ्लोरबाट गरेर पुरानै विधान ब्युँत्याइएको थियो।
नेताहरू व्यवस्थापन गर्न पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइए पनि ओली समूहले पदाधिकारीमा उम्मेदवार बनाउँदा आफ्नो समूहलाई एकढिक्का राख्न सकेन, त्यसको असर परिणाममा पर्न सक्ने नेताहरू बताउँछन्।
‘यसपालि हाम्रा साथीहरूले साह्रै साँधुरो घेरामा रहेर टिम बनाए, अँध्यारो कुनामा बसेर टिम बनाएपछि समस्या देखिएको हो,’ भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा आज साँझपख सेतोपाटीसँग कुराकानी गर्दै ओलीनिकट एक पदाधिकारीले भने, ‘टिम एकढिक्का रहेको सन्देश दिन नसक्दा त्यसले परिणाममा असर ल्याउन सक्छ।’
उनले चितवनमा भएको १० औं महाधिवेशनको उदाहरण पेस गर्दै भने, ‘१० औं महाधिवेशनमा हामीले धेरै दिन कुरा गरेर टिम बनाउँदा त समस्या आएको थियो। यसपालि सानो टिम, अँध्यारो कुनामा बसेर टिम बनाउँदा साथीहरूले अस्वीकार गर्नुभयो। सानो टिमले काम गर्दा मेचीदेखि महाकालीसम्मका साथीहरूको भावना समेट्न सकेन, भएको यही न हो। यसले परिणाममा असर ल्याउन सक्छ।’
ओली समूहले लेखराज भट्टराई सचिव पदमा उम्मेदवार बनाए पनि उनले मानेनन् र उपमहासचिव पदमा उम्मेदवार बने। भानुभक्त ढकाललाई सुरूमा उपमहासचिव भने पनि उनले सचिवमा उम्मेदवारी दर्ता गर्नुपर्यो।
ओलीनिकट नेताहरू कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, राजेन्द्र गौतम लगायतले ओली समूहमा स्थान नपाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह र स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गरेको अवस्था छ।
कृष्णगोपालले पोखरेल समूहबाट सचिव पदका लागि उम्मेदवारी दिएका छन्। श्रेष्ठ तिनै व्यक्ति हुन् जसले पार्टीभित्र र बाहिर ओलीको विरोध हुँदा सार्वजनिक रूपले बचाउमा ओर्लिन्थे। २०७८ सालमा शिक्षा मन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै उनले दिएको भाषण निकै चर्चित भएको थियो।
उनले त्यति बेला आक्रोशित मुद्रामा पटक पटक भनेका थिए, 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?’ उनी यतिमै रोकिएनन्, अगाडि भने, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।'
तर उनै श्रेष्ठ जारी ११औं महाधिवेशनमा ओली समूह छाडेर उनका प्रतिद्वन्द्वी पोखरेल समूहतिर लागेका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका श्रेष्ठ त्यही सम्बन्धका कारण ओलीबाट टाढिएका हुन्। भण्डारीलाई एमाले सदस्यता नदिएर 'केपी ओलीले अपराध गरेको' भन्दै ओलीकै विरोधी खेमाबाट उम्मेदवारी दिने टुंगोमा पुगेको उनी निकटहरू बताउँछन्।
लामो समयदेखि काठमाडौं उपत्यकामा केन्द्रित रहेर एमाले राजनीति गरेका श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता पनि हुन्। २०४७ सालयता चार पटक संसद निर्वाचन जितेका उनी छैठौं महाधिवेशनदेखि एमालेका केन्द्रीय सदस्य रहँदै आएका छन्।
उनी पटक पटक मन्त्रीसमेत भइसके। विगतमा स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए।
उनी शिक्षामन्त्री हुँदा विवादमा आएका थिए।
त्यही बेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै दिएको भाषण पनि विवादित बनेको थियो।
आफू प्रधानमन्त्री हुँदा ओलीले शिक्षा मन्त्री बनाएका रघुजी पन्तले पनि उनको साथ छाडेका छन्।
पन्त ओली समूहबाटै उपाध्यक्षका आकांक्षी थिए। त्यसको सम्बोधन नभएपछि उनले उपाध्यक्षमै उम्मेदवारी दिएका छन्। तर ओली समूहमा अटाएनन्। 'मैले उपाध्यक्षमा उम्मेदवारी दिएँ,' पन्तले सेतोपाटीसँग भने।
यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम पनि ओलीका विश्वास पात्र हुन्। सोही आधारमा उनले उपमहासचिव पदमा आकांक्षा व्यक्त गरेका थिए। तर ओलीले बनाएको आफ्नो टिममा गौतम अटाउन सकेनन्।
ओलीको टिममा नपरेपछि गौतमले पनि उनको साथ छाडेर उपमहासचिव पदमै उम्मेदवारी दर्ता गरेका छन्। 'मैले उपमहासचिव पदका लागि उम्मेदवारी दर्ता गरिसकेको छु,' गौतमले सेतोपाटीसँग भने।
नेता अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए। सचिव पदका आकांक्षी उनी पनि ओलीको टिममा नअटाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
ओली समूहबाट महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएपछि उपमहासचिव प्रदीप ज्ञवाली असन्तुष्ट छन्।ओलीले शंकरलाई नै महासचिव दोहोर्याएर आफूलाई उपाध्यक्ष बनाएपछि ज्ञवाली रूष्ट हुँदै मनोनयन दर्तास्थलबाटै बाहिरिएका हुन्।