तिमी चुपचाप छौ
म चुपचाप छु
मनभरि हल्लै हल्लाहरू छन्
सोध्छ, मन चिच्याइदिऊँ?
प्रेमको भारी छ्याल्ल पोखिदिऊँ?
पहिलो प्रेम कहाँ मर्छ र?
हावाको कण कणमा छरिदिऊँ?
म भन्छु पर्दैन
तिमी भित्रै मरे जस्तो गर
देख्दैनौ, उसको गलामा पोते
सिउँदोमा अरूकै सिन्दूर छ
उसको अस्तित्वलाई सम्मान गर
सम्झाउँछु, बुझाउँछु
यसैले त
तिमी चुपचाप छौ
म चुपचाप छु
मनभरि हल्लै हल्लाहरू छन्
फेसबुक बुढो भयो
खोजेर, एक स्ट्याटस पाउँदैनौ प्रेमको
इन्स्टाग्राममा छैन एक थान तस्बिर
उजाडेको छु प्रेमको हरेक बस्तीहरू
रहरै छ हेर्ने तिमीलाई
जंगलको एक दुई रुखमा, अझै खोपिएको होला
नदीको बगरको एक/दुई ढुंगामा छोपिएको होला
जाऊ त्यहाँ गएर पढ प्रेमका अक्षरहरू
तिमी चुपचाप छौ
म चुपचाप छु
मनभरि हल्लैहल्लाहरू छन्
मैले गरेको प्रेम पाप हुने भएपछि
मैले छरेको निशानी दाग हुने भएपछि
चुपचापै बसूँ म किन जीवनमा दाग छरूँ
खरानीको शान्ति ठिक छ किन आग छरूँ
यसरी खाली कागज बनूँ, कुनै नाम कोरेन
यसरी मूर्ति अचल बनूँ, कुनै घाम पोलेन
तिम्रो र मेरो पहिलो प्रेम
तिम्रो र मेरो बिचमा मात्र राखौँ
तिमी जल्दा त्यो जलोस्
म मर्दा त्यो मरोस्
तर त्यसको धुवाँमा हामी
कतै भेटिनुपर्छ है
तर अहिलेसम्म
तिमी चुपचाप छौ
म चुपचाप छु
मनभरि हल्लैहल्लाहरू छन्।