इतिहासको कुनै मोडमा देखिएको 'स्वतन्त्रता' को सपना
आज सिसाका अग्ला महलहरूमा 'कैद' भएको छ
जहाँ योग्यताको निधारमा—
नातावादको अदृश्य हतकडी झुन्डिएको छ
र पसिनाले अरूको बैंक ब्यालेन्स त लेख्छ,
तर आफ्नै भविष्यको पाना सधैँ खाली छोडिदिन्छ।
एउटा कर्मचारी हुनु—
आधुनिक कुरुक्षेत्रको एक्लो अभिमन्यु हुनु रहेछ।
झरीमा रुझिरहेको त्यो शरीर,
जो कर्जाका फाइल र ब्याजका गणित बोकेर गोरेटोमा हराउँछ,
त्यो केवल कर्मचारी होइन— संस्थाको 'धड्कन' हो।
तर विडम्बना!
जब प्रतिफलको 'अक्सिजन' बाँडिन्छ,
धुलोले भरिएका ती फोक्सोहरू निमोठिन्छन्,
र एअरकन्डिसनको हावामा सुस्ताउने 'आफ्ना' हरूलाई अमृत पिलाइन्छ।
निजी वैभवका यी टापुहरू आज—
व्यावसायिक मन्दिर होइन, सामन्ती किल्ला बनेका छन्।
जहाँ 'सिस्टम' एउटा बुट्टादार मकुन्डो मात्र हो,
जसले आफन्तवादको कुरूप अनुहार छोपिरहन्छ।
जहाँ युवाको उर्वर उमेरलाई 'अनुशासन' को पिँजडामा हालिन्छ,
र जब उसले उड्न खोज्छ—
चाप्लुसीको कैँचीले उसका पखेटाका रौँहरू उखेलिन्छन्।
ए साम्राज्यका मालिकहरू!
तपाईंका वातानुकूलित भित्तामा झुन्डिएका ती प्रमाणपत्रमा—
के ती कर्मचारीको आँसुको गन्ध आउँदैन?
जसले बिरामी बाबुको अनुहार बिर्सेर तपाईंको ब्यालेन्स सिट सुधार्यो,
जसले आफ्नै डिग्रीलाई 'होल्ड' मा राखेर तपाईंको सपनालाई उडान दियो।
तपाईंको 'लिमिटेड' वैभवले—
कसैको 'अनलिमिटेड' सपना लिलाम गर्ने अधिकार कहाँबाट पायो?
याद रहोस्!
मान्छे तेल सकिएपछि फेरिने निर्जीव मेसिन होइन,
मान्छे त एउटा आत्मसम्मानको ज्वाला हो।
जब इमानदारीलाई कमजोरी सम्झिइन्छ,
तब विद्रोहका अक्षरहरू रगतले लेखिन थाल्छन्।
अबका दिनमा संस्था— चाप्लुसीको घ्यूले होइन, पसिनाको मूल्यले चिनिनेछ,
किनकि रित्तो मान्छेले अब आफ्नो 'पूर्णता' चिन्न थालेको छ।