विद्यार्थी भिसामा जानेलाई अस्ट्रेलियाले गहिरो तरिकाले हेर्छ।
ऊ वास्तविक विद्यार्थी हो कि होइन भनेर बुझ्न उसको कागजात (डकुमेन्ट), पढाइमा कति वर्ष 'ग्याप' छ, भाषाको दक्षता, आर्थिक क्षमता, उसले रोजेको कलेजम पढ्न सक्छ कि सक्दैन, कलेज फेर्ने हो कि होइन भन्ने जस्ता कुरामा चासो राखेको देखिन्छ।
कहिलेकाहीँ एउटै युनिभर्सिटीमा चार/पाँच सय नेपाली विद्यार्थीको आवेदन पर्छ। सर्सर्ती हेर्दा वास्तविक विद्यार्थी होइन भन्ने लागेमा डकुमेन्ट फिर्ता गर्न पनि भनेको छ।
त्यसैले अहिले भिसा स्वीकृतिको दर ३०–४० प्रतिशतमा झरेको छ। पहिले यो दर ७०–८० प्रतिशत थियो।
विद्यार्थीको परिवारको आम्दानी वार्षिक २०–२२ लाख रूपैयाँ छ कि छैन, कर तिरेको छ कि छैन भन्ने पनि हेरिन्छ। हरेक महिना तलब खाइरहेको छ भने त्यसको स्टेटमेन्ट चाहिन्छ। बैंकमा ६०–७० लाख रूपैयाँ जम्मा भएको देखाउनुपर्छ। त्यो पैसा वा ऋण वास्तविक हो कि होइन, स्रोत के हो, त्यसको कर तिरेको छ कि छैन — यी सबै हेर्छ।
एकैचोटि ५–६ सय विद्यार्थी हुँदा फेरि अलग्गै तरिकाले हेरिन्छ। 'डिपार्टमेन्ट अफ होम अफेयर्स' ले युनिभर्सिटी (विश्वविद्यालय) को स्तर निर्धारण गरेको हुन्छ। उसले जति राम्रा विद्यार्थी ल्याउँछ, त्यसको आधारमा स्तर पनि निर्धारण हुन्छ। युनिभर्सिटीले धेरै विद्यार्थी ल्याएर व्यापारका रूपमा मात्र हेर्ने गरेको छ भने भिसा लाग्ने सम्भावना कम हुन्छ।
त्यसैले अस्ट्रेलिया जाने तयारी गर्दा उता गएर के गर्ने भन्ने पनि योजना हुनुपर्छ। कफी बनाउने, कपाल काट्ने लगायत सीप सिक्न सकिन्छ। आइटी पढ्ने भए त्यही अनुसार तालिम लिन सकिन्छ। यस्तो भए स्थायी आवास अनुमतिपत्र (पिआर) लिन पनि सहज हुन्छ।
पहिलो ध्यान दिनुपर्ने कुरा भनेको शैक्षिक ग्याप हुनु हुँदैन। दोस्रो, भाषामा दक्ष हुनुपर्छ। तेस्रो, आर्थिक डकुमेन्ट बलियो हुनुपर्छ।
यसबाहेक कहिलेकाहीँ विद्यार्थीको नेपाल फर्किने ग्यारेन्टी पनि अस्ट्रेलियाले खोजेको हुन्छ।
कुनै साल विद्यार्थी ह्वात्त आउने अनि कुनै साल कडाइ गर्ने पनि हुन्छ। होम अफेयर्सले रोजगारीको क्षेत्रमा अध्ययन गरेर यसबारे सोचेको हुन्छ।
अनि कन्सल्टेन्सीले ‘भइहाल्छ, मिलाइहालिन्छ’ भनेका आधारमा भर पर्नु हुँदैन। आफैले पनि बुझ्न जरूरी छ।
अस्ट्रेलियामा आफू कसरी पढ्ने, नेटवर्किङ कसरी बढाउने, कुन ठाउँमा कस्तो काम भेटिन्छ भनेर सोच्नुपर्छ। विद्यार्थीको काम गर्ने समय सीमित हुनेमा पनि ध्यान दिनुपर्छ। गएर सस्तो कलेज खोजेर परिवर्तन गर्नु हुँदैन। आफ्नो इन्स्योरेन्स (बीमा) पनि गर्नुपर्छ।
अस्ट्रेलियाको नियम र परिधिमा रहेर पढियो भने समयमै पढाइ सकिन्छ। समयमै पढाइ सके वर्किङ भिसा पाउन सकिन्छ। त्यही अनुसार सीप भयो भने पिआर पाउन सजिलो हुन्छ। यो एउटा प्रक्रिया हो। यसै अनुसार गर्यो भने राम्रो हुन्छ।
म गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्ष भएर बुझ्दै गर्दा यहाँ युवाहरू साथी संगतमा लागेर पनि बिग्रिएका छन्।
कति युवाहरू पोकर, ग्याम्बलिङ र कुलतमा फसेका हुन्छन्। घरदेखि टाढा, कसैले केही गर्दैन भन्ने समेत हुन्छ। त्यसैले अभिभावकले पनि छोराछोरी कसरी, कोसँग बसेका छन् भन्ने बुझ्न जरूरी छ। छोराछोरीसँग कुरा गरिरहनुपर्छ।
महँगो युनिभर्सिटी, घरमा पैसाको अपेक्षा अनि खर्च अभावले कतिपय अवस्थामा मानसिक समस्या हुन सक्छ।
पढिसकेपछि सुखका दिन आउँछन्। पैसा कमाउने दिन आउँछ, आत्तिन हुँदैन। विद्यार्थी भिसामा जानासाथ ‘मैले अब पैसा कमाउने हो’ भन्ने ठान्यो भने भिसा बिग्रिन सक्छ।
अस्ट्रेलियामा घरेलु हिंसा पनि समस्या बनेको छ। हामी नेपालमा हुर्किए जस्तो उता हुँदैन। घरेलु हिंसाको कुरा मिलाउन पनि मिल्दैन। यो बुझ्न एकदमै जरूरी छ। म यसको विज्ञ होइन, तर नियमहरू सबै थाहा पाउनुपर्छ।
पासपोर्ट बनाउँदा पनि कति नेपालीले समस्या भोग्छन्। बेला मौकामा दूतावासले घुम्ती शिविर चलाइरहेको हुन्छ। तर यसलाई स्थायी रूपमा समाधान गर्नुपर्छ।
हेर्नुस् अस्ट्रेलियाको रजिस्टर्ड माइग्रेसन एजेन्ट तथा इसान एजुकेसन ब्रिसबेनका सञ्चालक समेत रहेका एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरसँग गरिएको भिडिओ कुराकानीः