पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो।
३२ जना प्रतिवादी कायम गरिएको यस मुद्दामा ८ जना पक्राउ गरी ल्याएको सूचना अधिकारी श्रेष्ठले बताए। अन्यलाई फरार कायम गरिएको छ।
माघ ११ गते सिआइबीले पर्वतारोहण गर्न आएका विदेशी पर्यटकलाई बिमाको रकम असुली गर्न संगठित रूपमा ठगी हुँदै आएको भन्ने जानकारी पाएको थियो।
संगठित रूपमा पर्यटकलाई बिरामी भएको बताउँदै हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा भर्ना गरी बिमा दाबी गर्ने गरेको आरोप उनीहरूमाथि थियो।
प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, एभरेस्ट एक्स्पिरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसीलाई पक्राउ गरेको थियो।
विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि पक्राउ गरेको थियो।
त्यस्तै, माघ २५ गते श्रिद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना लगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।