‘रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, नेपाल-भुटान’ अन्तर्गत आगामी कार्यकाल (२०२६/२७) का पदाधिकारीहरूलाई आफ्ना योजना बनाउन र सफलतापूर्वक कार्यान्वयन गर्न सघाउने उद्देश्यले काठमाडौँमा एक दिने कार्यशाला 'असिस्टेन्ट गभर्नर लर्निङ सेमिनार' र 'डिष्ट्रिक्ट टिम लर्निङ सेमिनार' सम्पन्न भएको छ।
कार्यशालाले आगामी रोटरी वर्षका लागि असिस्टेन्ट गभर्नर तथा डिष्ट्रिक्ट टिमका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै रोटरीका लक्ष्य, योजना र कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले बताए।
आगामी रोटरी वर्ष २०२६–२७ का कार्यक्रमबारे डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले विस्तृत जानकारी दिएका थिए। साथै, इन्टरनेसनल पास्ट डिष्ट्रिक्ट गभर्नर तथा डिष्ट्रिक्ट लर्निङ फेसिलिटेटर राजेन्द्र मान शेरचनले कार्यक्रमका मुख्य विशेषताहरू प्रस्तुत गरेका थिए।
प्लेनरी सत्रमा 'रोटरीबारे कसरी बोल्ने, रोटरीको छवि निर्माण, मूल्य र संस्कृति' विषयमा छोङ्वा शेर्पाले प्रस्तुति दिएका थिए। त्यसपछि 'रोटरी फाउन्डेसनको विकास र डिष्ट्रिक्टलाई सहयोग' विषयमा पीडीजी तथा असिस्टेन्ट रिजनल मेम्बरशिप कोअर्डिनेटर जितेन्द्र बहादुर राजभण्डारीले सहजीकरण गरेका थिए।
कार्यक्रममा ४३ जना असिस्टेन्ट गभर्नर तथा करिब सय जना पदाधिकारी एवं काउन्सिल अफ गभर्नर गरी करिब १ सय ४० जना उपस्थित भएको डिस्ट्रिक सेक्रेटरी गौतम श्रेष्ठले बताए।