ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित एक घरबाट चोरी भएको सुनचाँदीका गहना सहित दुई जना पक्राउ परेका छन्।
चैत ३ गते कृष्णप्रसाद श्रेष्ठको घरबाट सुनचाँदीका गहना चोरी भएको घटनाको अनुसन्धानका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका–२ नागदह घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका ३२ वर्षीय सजनकुमार श्रेष्ठ र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौं मनोहरा नगरपालिका–९ बस्ने ३२ वर्षीय प्रेम लामा रहेका छन्।
प्रहरीका अनुसार प्रेम लामा यसअघि पनि पटक–पटक चोरी तथा डाँका सम्बन्धी मुद्दामा करिब ११ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन्। कैद भुक्तान गरी छुटे लगत्तै पुनः चोरीमा संलग्न रहेको अवस्थामा उनी चोरीका गरगहना सहित पक्राउ परेका हुन्।
पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोमा ल्याई चोरी मुद्दा दर्ता गरी सम्मानित अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।