शुक्रबार दिउँसोदेखि भएको वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-दाउन्ने खण्ड अवरुद्ध भएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने खण्डमा चिप्लो भएपछि सडक पुर्ण रुपमा बन्द भएको हो।
वर्षासँगै सडक हिलाम्य भएपछि दाउन्नेमा सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै अलपत्र परेका छन्।
पूर्व-पश्चिम सडकखण्ड अवरुद्ध भएपछि सवारी साधनलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरीएकोमा बुटवल पाल्पा खण्ड पनि बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन्।
प्रहरीका अनुसार बुटवल पाल्पा खण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित सिद्धबाबा मन्दिर नजिकै लेदो सहित ढुङ्गा झरेपछि उक्त खण्ड पनि अवरुद्ध भएको छ।
प्रहरीले बुटवल नारायणगढ खण्ड र बुटवल पाल्पा खण्ड पनि बन्द भएकोले यात्रा गर्नुपूर्व सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म दाउन्नेमा सडक सञ्चालनमा समस्या देखिएको छ।
शुक्रबारदेखि नै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो।
सडक विस्तारको काम भैरहेको यस क्षेत्रमा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ।
सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको थियो।