ठूलो आन्द्राको क्यान्सर तीन कारणले हुन्छ।
पहिलो भनेको कुनै पनि मानिसको जीवनमा कुनै पनि कारणले हुन सक्छ।
अर्को भनेको पारिवारिक रूपमा आएको हुन्छ। जस्तो कुनै व्यक्तिको परिवारमा कसैलाई ठूलो आन्द्राको क्यान्सर भयो भने अर्को व्यक्तिलाई पनि हुन सक्छ।
तेस्रो भनेको जन्मजात नै जिनमा जटिलता देखिन्छ। जसले गर्दा ठूलो आन्द्राको क्यान्सर देखिन सक्छ। यस्ता व्यक्तिहरू २०/२५ वर्षकै उमेरमा ठूलो आन्द्राको क्यान्सर देखिएर आएका हुन्छन्।
ठूलो आन्द्राको क्यान्सर हुनेमध्ये धेरैले केही न केही लक्षण लिएर आउँछन्। सामान्यत: दिसा गर्ने ठाउँमा मासु पलाएको हुन्छ र त्यसले गर्दा त्यहाँ सिँगान जस्तो आउने हुन्छ। दिसामा रगत आउने हुन्छ। त्यो घाउ बढ्दै जाँदा आन्द्रालाई बन्द गर्न थाल्छ र त्यहाँबाट रगत आउँछ। धेरैजसो रगत दिसामा मिसिएर आउने हुन्छ।
ठूलो आन्द्राको क्यान्सर बढ्दै जाँदा कहिले दिसा पातलो हुने, कहिले कब्जियत हुने हुन्छ। कतिपय बिरामी त आन्द्रा बन्द भएर पनि आउँछन्। उनीहरूको दिसा नै गइरहेको हुँदैन। हावा पास नहुँदा र कलेजो, फोक्सोमा फैलिएर पनि बिरामी आउँछन्।
ठूलो आन्द्राको क्यान्सर लक्षण देखिनुभन्दा पहिल्यै पनि थाहा पाउन सकिन्छ। यसको लागि स्क्रिनिङ जरूरी हुन्छ। यसमा नेपाल सरकारको नीति आवश्यक छ।
नेपाल सरकारले चाहेमा यो असम्भव भने छैन, किनकि हामीसँग त्यस्तो जनशक्ति र प्रविधि दुवै छन्।
ठूलो आन्द्रा भनेको एउटा पाइप जस्तै हो। त्यसमा सानो मासु पलाएर समस्या सुरू हुन्छ। त्यस्तो बेला कुनै लक्षण देखिँदैन। जब त्यो मासु बढ्दै जान्छ, तब दिसामा रगत देखिने, कहिले कब्जियत हुने, कहिले पखाला लाग्ने हुन्छ।
पहिलो र दोस्रो चरणमा आएका बिरामीको अपरेसनबाट पूर्ण रूपमा निको हुने सम्भावना धेरै हुन्छ।
तेस्रो र चौथो चरणका क्यान्सर भएका बिरामीहरूको उपचार गर्दा टोलीले निर्णय लिनुपर्छ। बिरामीलाई कुन तरिकाले उपचार गर्ने भनेर छलफल जरूरी हुन्छ।
कतिपयलाई चौथो चरणको क्यान्सर भए उपचार हुँदैन भन्ने भ्रम छ, तर ठूलो आन्द्राको क्यान्सरमा चौथो चरणमा पनि उपचार सम्भव छ। पेटका क्यान्सरमध्ये बिरामीलाई उपचार गरेर लामो आयु दिन सकिने क्यान्सरमध्ये ठूलो आन्द्राको क्यान्सर पनि एक हो।
क्यान्सरको पहिचान र उपचारमा खर्च हुन्छ, तर नेपाल सरकारको अनुदान र बीमा कार्यक्रमले केही सहज बनाएको छ।
ठूलो आन्द्राको क्यान्सरको जोखिम जसलाई पनि हुन सक्छ। तर जीवनशैली र खानपान पनि एउटा कारण हो। फाइबर कम खाने, रातो मासु धेरै खाने, मोटोपना भएका र मधुमेह भएका बिरामीमा यसको जोखिम बढी हुन्छ।
(ग्यास्ट्रो इन्टेस्टाइनल सर्जन डा. उत्तम लौडारी काठमाडौं मेडिकल कलेजमा कार्यरत छन्।)