सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीचको निरन्तर संवाद आवश्यक रहेको बताएकी छन्।
शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएकी हुन्।
‘अहिले अलिकति विषम परिस्थितिमा के पनि छ भन्दाखेरि स्वार्थ समूहहरू पनि चल्मलाएको छ। न्यायपालिकाप्रति जनआस्था गिराउने र न्यायपालिकालाई कमजोर बनाउने। कसैको सक्षमता निष्ठामा प्रश्न उठाएर उठाउँदा ठीक हुन्छ। तर न्याय न्यायिक आस्था र यो न्यायपालिकालाई कमजोर गर्ने कुरामा कसैले पनि सहँदैन र यहाँनिर सम्पूर्ण बार महिला कानुन व्यवसायी र अदालत सँगसँगै हिँड्न सक्नुपर्छ। कानून व्यवसायी केवल मुद्दामा बहस गर्ने व्यक्ति मात्रै होइन,’ उनले भनिन्, ‘तपाईंहरू त न्याय प्रणालीको एकदमै महत्वपूर्ण सहयात्री हो। त्यसैले म विशेष गरेर म बारको अध्यक्षज्यू यहाँ हुँदाखेरि चैत १८ गतेदेखि म के निवेदन गर्न चाहन्छु भन्दाखेरि बार र बेन्चको संवादको निरन्तरता गरौँ। यहाँ त सुरूवआतै हुन सकेको छैन।’
न्यायाधीश मल्लले न्याय क्षेत्रमा महिलाहरूको बढ्दो सहभागिताका बावजुद उनीहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाइने गरेकोमा असन्तुष्टि व्यक्त गरिन्।
पुरूष न्यायाधीश वा कानून व्यवसायीको क्षमतामा खासै प्रश्न नगरिने तर महिलाहरूले भने प्रत्येक दिन आफ्नो सक्षमताको परीक्षा दिनुपर्ने अवस्था रहेको उनले बताइन्।
‘पुरूषलाई कसैले ‘झोले’ भन्दैन, तर बारबाट न्यायाधीशमा जाँदा महिलालाई ‘झोले’ को बिल्ला भिराइन्छ। संसद विघटन जस्तो गम्भीर संवैधानिक मुद्दामा फैसला गर्दा पनि महिलाको क्षमताको परीक्षण सकिएको छैन। आखिर कति चोटी दिने महिलाले परीक्षण?,’ उनले भनिन्।
न्याय सेवा र सरकारी वकिल समूहमा महिलाको उपस्थिति ३० प्रतिशत पुग्न लागे पनि न्यायाधीश तहमा अझै कम रहेको उनले बताइन्।
—न्युज एजेन्सी नेपाल