संघीय संसद सचिवालयले सांसदहरूको सपथग्रहणबारे दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ।
छलफलका लागि सचिवालयले ६ वटा दलका प्रतिनिधिलाई डाकेको हो। दिउँसो २ बजे दलका प्रतिनिधिसँग सचिवालयले छलफल गर्न लागेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा राष्ट्रिय दल बनेका छन्।
आजै निर्वाचन आयोगले पनि राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै छ।
संसद सचिवालयले आउँदो १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई शपथग्रहण गराउने तयारी गरिरहेको छ।
‘उहाँहरूलाई मिति अनुकूल हुन्छ कि हुँदैन, नभए अघि वा पछि गर्न सकिन्छ’, सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘हामीले उहाँहरुलाई आन्तरिक रूपमा तयारीका लागि सूचित गर्न लागेका हौं।’
संसद सचिवालयले सांसदहरूलाई शपथग्रहणको भाषा रोज्ने छुट दिन्छ। यदि कुनै सांसदले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा आफैले शपथ ग्रहणको व्यहोरा तयार पारेर संसद सचिवालयमा पेस गर्नुपर्ने हुन्छ।
सांसदहरूलाई नवनिर्मित संघीय संसद परिसरको एउटा हलमा शपथग्रहण गराउने तयारी सचिवालयको छ। संसदको नयाँ बैठक कक्ष भने तयार भइसकेको छैन।