राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गरेका छन्।
मंगलबार ललितपुरको रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले आफ्ना सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका हुन्।
‘म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु। सक्नुहुन्छ सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुस्। सक्नुहुन्न, इमर्जेन्सीको बेलामा मैले भनेको छैन,’ उनले भने, ‘सक्नुहुन्छ भने सरकारी अस्पतालमा उपचार गराउनुस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीलाई जुन अप्ठेरो पर्छ तपाईंले मात्रै सुविधा प्राप्त गर्ने कुरा जायज छ।’
उनले अस्पतालको बेड प्राप्त गर्नका लागि पनि सोर्स फोर्स लगाउनु पर्ने विषय अन्त्य गर्नुपर्ने बताए।
‘मलाई मत दिएका जनताको घरघरमा खुसियाली आउनुपर्नेछ। मलाई मत दिएका जनताको चूलो बल्नुपर्नेछ। र मत दिएका जनतालाई प्रभाव पर्नुपर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोर्स फोर्स बिना भन्ने तपाईंहरूलाई महसुस गर्नुपर्नेछ,’ उनले भने।